विराटनगर । उद्योग संगठन मोरङले पहिलो पटक कोशी प्रदेशको राजधानी विराटनगरमा घर निर्माण प्रदर्शनी २०८२ गर्ने भएको छ ।
संगठनले बिहीबार पत्रकार सम्मेलन गरी सीआईएम होम बिल्ड एक्जिबिसन २०२६ चैत १२ देखि १६ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । निर्माण क्षेत्रका नेपाली औद्योगिक उत्पादन तथा सेवाहरूको प्रवर्द्धन, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अभिप्रायका साथ प्रदर्शनी गर्न लागको संगठनका अध्यउक्ष नन्दकिशोर राठीले जानकारी दिए । बजारलाई चलायमान बनाउने माध्यमको रूपमा विषयगत एक्स्पोहरूको आवश्यकता महसुस गरी निर्माण क्षेत्रको इकोसिस्टम विकासको प्रयासस्वरूप घर निर्माण प्रदर्शनीको आयोजना गर्न लागेको उनको भनाइ छ । प्रदर्शनीमा घर निर्माणसंग सम्बन्धित कच्चा पदार्थदेखि लिएर आन्तरिक सजावटका सामग्रीसम्मको प्रर्दशनी हुनेछन् ।
प्रदर्शनीको माध्यमबाट निर्माण मूल्य शृंखलामा संलग्न उत्पादक, सेवा प्रदायक, डिजाइनर, नीति–निर्माता र उपभोक्तालगायत सबै सरोकारवाला एउटै छानामुनि एकत्रित गरिने छ । त्यसले नवप्रवर्तनको प्रदर्शन, नयाँ साझेदारी निर्माण तथा बजार सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । ‘घर निर्माणको क्षेत्र र यसको आपूर्ति श्रङ्खला बृहत्तर छ । सामान्य ज्यालामा काम गर्ने श्रमिकदेखि दक्ष प्राविधिक, परामर्शदाता, निर्माण सामग्री उत्पादक, सेनेटरी, फर्निचर, फिक्चर, टायल मार्वललगायत व्यापक क्षेत्रमा यसको प्रभाव छ । तसर्थ वर्तमानको संकुचित बजारको अवस्थालाई यस क्षेत्रको प्रवर्धनका माध्यमबाट चलायमान बनाउन यस प्रदर्शनीको आयोजना गरेको हो’, अध्यक्ष राठीले भने ।
प्रदर्शनीको मुख्य उद्देश्य नेपाली निर्माण सामग्री तथा सेवाहरूको प्रवर्द्धन, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आयात प्रतिस्थापनमार्फत देशको निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउनु रहेको उद्योगि शुरेन्द्र गोल्छाले बताए । गोल्छाले प्रदर्शनीमा सुरक्षित, दिगो र आधुनिक घर निर्माणका लागि व्यवहारिक समाधानहरू र नवीन प्रविधिहरू प्रस्तुत गरिने जानकारी दिए । पाँच दिनसम्म सँचालन हुने उक्त प्रदर्शनीमा ७५ वटाभन्दा बढी स्टल रहनेछन् । प्रर्दशनीमा डिजाइन तथा प्लानिङअन्तर्गत वास्तुकला, संरचनात्मक इन्जिनियरिङ तथा वास्तु परामर्श सेवा निर्माण सामग्रीअन्तर्गत सिमेन्ट, इटा, स्टिल, वाटरप्रुफिङ र इन्सुलेसन स्यानिटरी तथा प्लम्बिङअन्तर्गत पाइप, फिटिङ, फिक्स्चर र पानी प्रशोधन प्रणाली तथा विद्युत् तथा ऊर्जाअन्तर्गत वायरिङ, स्विच, सौर्य प्रणाली, स्मार्ट होम प्रविधि, लिफ्ट, साउन्ड प्रुफिङ तथा सेफ्टी तथा सुरक्षा जस्ता उत्पादन र सेवाहरू समावेश हुनेछन् ।
त्यसैगरी फर्निचर तथा फिक्स्चरअन्तर्गत मोड्युलर किचन, वार्डरोब, ढोका–झ्याल, हार्डवेयर, पर्दा तथा कपडा आन्तरिक डिजाइन तथा सजावटअन्तर्गत पेन्ट, प्रकाश व्यवस्था, फलोरिङ तथा फर्निसिङ निर्माण सेवाअन्तर्गत ठेकेदार, परियोजना प्रबन्धक, उपकरण भाडा तथा नवप्रवर्तनअन्तर्गत निर्माण सफट्वेयर, स्वचालन उपकरणका साथै बैंक तथा बीमा कम्पनीहरूद्वारा प्रदान गरिने वित्तीय तथा बीमा सेवाहरू पनि समेटिने जनाइएको छ ।