काठमाडौं । रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् । ग्लोबल रिसाइक्लिङ डे २०२६ को अवसरमा आयोजित कार्यक्रममा सहभागीहरुले फोहर व्यवस्थापन, पुनःप्रयोग तथा सर्कुलर अर्थतन्त्रको प्रवर्द्धन गनृूपर्नेमा जोड दिएका हुन् ।
फोहरलाई समस्याका रूपमा मात्र नभई अवसरका रूपमा हेर्नुपर्ने उनीहरुको भनाइ थियो । क्रिएसन नेपालले आयोजना गरेको ग्रीनशिफ्ट परियोजनाअन्तर्गतको कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले फोहरप्रतिको सोच परिवर्तन आवश्यक रहेको बताइन् । महानगरले फोहर व्यवस्थापन सुधारका लागि काम गरिरहेको उनले जानकारी दिइन् । युरोपेली संघका नेपालस्थित सहकार्य प्रमुख होसे लुइस भिनुएसा सान्तामारियाले ‘ग्रीन सर्कुलारिटी’ अवधारणाले घटाउने, पुनःप्रयोग गर्ने, पुनःप्राप्त गर्ने र रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्ने उल्लेख गरे । क्रिएसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले प्लास्टिकलाई समस्याका रूपमा मात्र नभई अवसरका रूपमा पनि बुझ्नुपर्ने बताउँदै सामूहिक प्रयासमार्फत नयाँ सम्भावनाहरू खोज्नुपर्नेमा जोड दिइन् ।
क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले ग्रीनशिफ्ट परियोजना परिवर्तनको अभियान भएको बताइन् । कार्यक्रममा १०० जना फोहर संकलनकर्ताको साइकल र्याली गरेका थिए । यूएन पार्कबाट सुरु भएको र्याली थापाथली पुल, बागमती करिडोर, बल्खु, नख्खु, भैंसेपाटी, ज्वालाखेल र पुल्चोक हुँदै पुनः यूएन पार्कमै समापन भएको थियो । कार्यक्रममा रिसाइक्लिङ उद्यमी, फोहर संकलनकर्ता, युवा नवप्रवर्तनकर्ता तथा हरित व्यवसायमा संलग्न संस्थाहरूको उल्लेख्य उपस्थिति थियो । रिसाइक्लिङ क्षेत्रमा योगदान पुर्याउने उद्यमी, फोहर संकलनकर्ता तथा साझेदार संस्थाहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा दुईवटा विषयगत छलफल सत्रमार्फत रिसाइक्लिङ र सर्कुलर अर्थतन्त्रका अवसर, चुनौती तथा नवप्रवर्तनबारे विज्ञहरूले विचार राखेका थिए । वक्ताहरूले रिसाइक्लिङले फोहरको मात्रा घटाउने, हरितगृह ग्यास उत्सर्जन कम गर्ने तथा दिगो उपभोग र उत्पादन प्रणालीलाई प्रवर्द्धन गर्ने बताएका थिए ।