काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा कुल निक्षेप र कर्जा खाताको बीचमा निकै ठूलो खाडल अर्थात् ग्याप देखिएको छ । यही ग्यापका कारण पनि बैंकिङ क्षेत्रमा निक्षेपमा सबैको पहुँच पुगेको भए पनि कर्जामा भने केही सीमित व्यक्तिहरूको मात्र पहुँच पुगेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिना अर्थात् माघ मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थामा खोलिएको कुल निक्षेप खाता संख्या छ करोड १८ लाख ५१ हजार दुई सय ३० पुगेको छ । यो निक्षेप खाताको संख्या कुल कर्जाको खाताको संख्याको तुलनामा पाँच करोड ९८ लाख १६ हजार दुई सय ८४ ले बढी हो ।
यस अवधिमा बैंकिङ क्षेत्रमा कुल कर्जा खाताको संख्या २० लाख ३४ हजार नौ सय ४६ मात्र रहेको छ । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा कुल निक्षेप खाताको संख्या पाँच करोड ८१ लाख ७२ हजार सात सय रहेको थियो । यो संख्या उक्त अवधिमा बैंकिङ क्षेत्रमा रहेको कुल कर्जा खाता संख्याको तुलनामा पाँच करोड ६२ लाख ४२ हजार नौ सय सातले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या १९ लाख २९ हजार सात सय ९३ मात्र रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको माघ मसान्तसम्ममा वाणिज्य बैंकहरूमा मात्र रहेको कुल निक्षेप खाता संख्या पाँच करोड ३० लाख ३९ हजार पाँच सय ९० रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल चार करोड ९८ लाख ६८ हजार आठ सय ५६ वटा मात्र निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए । विकास बैंकहरूमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या चालू आवको पछिल्लो सात महिनाको अवधिमा ७७ लाख ३५ हजार ५० रहेको छ । गत आवका सोही अवधिमा विकास बैंकहरूमा कुल ७३ लाख ६० हजार तीन सय ९३ वटा मात्र निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए । फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या पनि चालू आवको पछिल्लो सात महिनाको अवधिमा १० लाख ७६ हजार पाँच सय ९० पुगेको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल नौ लाख ४३ हजार चार सय ५१ निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनाको अवधिमा वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या १६ लाख ९० हजार सात सय ५१ पुगेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा १६ लाख ११ हजार चार सय ५७ वटा कर्जा खाता सञ्चालनमा रहेका थिए । विकास बैंकहरूमा पछिल्लो अवधिमा कुल दुई लाख ६७ हजार सात सय ५३ वटा कर्जा खाता सञ्चालनमा रहेका छन् ।
गत आवको सोही अवधिमा विकास बैंकहरूमा कुल दुई लाख ७४ हजार २३ वटा कर्जा खाता सञ्चालनमा रहेका थिए । फाइनान्स कम्पनीहरूमा पनि पछिल्लो अवधिमा कुल ७६ हजार चार सय ४२ वटा कर्जा खाता सञ्चालनमा रहेका छन् । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल ४४ हजार तीन सय १३ वटा कर्जा खाता सञ्चालनमा रहेका थिए ।