काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को नवनिर्वाचित कार्यसमितिले भावी कार्ययोजनासम्बन्धी रणनीतिक कार्ययोजना सार्वजानिक गरेको छ ।
संघका डा. हेमराज शर्माको अध्यक्षतामा हालै बसेको पहिलो बैठकले आगामी कार्यकालका लागि लगानी, नागरिकता र श्रमिक सुरक्षाका क्षेत्रमा बहुआयामिक नीति तथा कार्यक्रमहरू पारित गरेको हो । संघले नेपालमा गैरआवासीय नेपालीको लगानी प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै नेपाल सरकारसँग संयुक्त रूपमा स्थापना गरिएको १० अर्ब रुपैयाँ पुँजीको ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ तत्काल सञ्चालनमा ल्याउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न आग्रह गरेको छ । साथै नेपालमा लगानी आर्कषित गर्नको लागी अमेरिका, एसिया, ओसेनिया, मध्यपूर्व/मलेसिया, अफ्रिका र युरोप क्षेत्रमा रोड–शो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
संघले संसदमा विचाराधीन ‘गैरआवासीय नेपालीसम्बन्धी कानुन’ शीघ्र पारित गर्न सरकारसँग माग गरेको छ । त्यस्तै, गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, सम्पत्ति सुरक्षाको प्रत्याभूति तथा विदेशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूलाई नेपालसँग वैधानिक रूपमा आबद्ध गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको संघका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिए । संघले संविधान संशोधनमार्फत वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न तथा विदेशबाट मतदानको व्यवस्था लागू गर्न विशेष पहल गर्ने नीति लिएको छ । भूतपूर्व गोर्खा सैनिकहरूको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक संवाद अघि बढाउन पनि सरकारसंग संघले माग गरेको छ ।
संघले मध्यपूर्वमा द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको उद्धारका लागि वैदेशिक रोजगारी कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ । सो कोषलाई २०२७ सम्म १० करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको प्रवक्ता सापकोटाले बताए । यस्तै संघले दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको सहभागिता बढाउन अन्तर्राष्ट्रिय संयोजन प्रणाली व्यवस्थित बनाउने जनाएको छ । ‘युथ भोलेन्टियर फर नेपाल’ कार्यक्रममार्फत उनीहरूलाई नेपालमा स्वयंसेवा तथा इन्टर्नसिपका अवसर उपलब्ध गराउने संघले जनाएको छ । साथै विश्व महिला सम्मेलन आयोजना गर्ने घोषणा पनि गरिएको छ ।
बौद्धिक लगानी प्रवर्द्धनअन्तर्गत विश्वभर रहेका नेपाली पेशाकर्मीहरूलाई समेट्दै ‘प्रोफेसनल एन्ड एकेडेमिक काउन्सिल गठन गर्ने, ज्ञानमा आधारित अर्थतन्त्र विकासका लागि आगामी अक्टोबरमा एनआरएन ग्लोबल नलेज कन्भेक्सन गर्ने, परोपकारी कार्यक्रमअन्तर्गत ‘मोबाइल ब्लड बस’ परियोजना सातै प्रदेशमा विस्तार गर्ने, सडक बालबालिकासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने लगायतका कार्यक्रम अघि सारिएको छ । बैठकमा संघका पदाधिकारीहरूले राजनीतिक संलग्नताबाट अलग रहने, सामाजिक सञ्जालमा दलगत गतिविधि नगर्ने र व्यक्तिगत आक्षेप नगर्ने प्रतिबद्धता जनाएका छन् ।