पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन् ।
प्रतियोगितामा उनले सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गरेका हुन् । उनको यो करियर १४औं उपाधि हो । उपाधिसँगै उनले नगद १ लाख ७० हजार प्राप्त गरेका छन् । यसअघि यो सिजनमा उनले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप र सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए । दोस्रो भएका सञ्जयले नगद १ लाख २५ हजार हात पारे । एमेच्योर राहुल विश्वकर्मा तेस्रो भए । धरानका गल्फर शुक्र बहादुर राई चौथो भए । प्रोतर्फ तेस्रो भएका उनले नगद १ लाख आफ्नो नाममा लेखाए । जयराम श्रेष्ठले पाँचौं स्थानमा चित्त बुझाए । उनले ८२ हजार प्राप्त गरे । पोखराका घरेलु गल्फर भुबहादुर गुरुङ छैटौं भएर नगद ७२ हजार रुपैयाँ पाए । भुवन कुमार रोक्का र दिनेश प्रजापतिले संयुक्तरुपमा सातौं स्थान बाँडे । उनीहरूले समान ६५ हजार प्राप्त गरे । यस्तै तोरण विक्रम शाही नवौं हुँदै ५१ हजार रुपैयाँ पाए भने रमेश अधिकारी र सुरेश तामाङ संयुक्त रुपमा दशौं भए । उनिहरुले ४४ हजार नगद पुरस्कार हात पारे । विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटि जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरेका थिए । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो ।