काठमाडौं । साइबर सुरक्षामा महिला नेतृत्व निर्माण लागि काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ । क्यान महासंघको आयोजना हालै भएको ‘सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरणः साइबर सुरक्षा नेतृत्व निर्माण’ विषयक कार्यक्रममा सहभागीहरूले डिजिटल प्रविधिको तीव्र विस्तारसँगै बढ्दो साइबर जोखिमलाई न्यूनीकरण गर्न महिलाहरूलाई सक्षम बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डिजिटल सुरक्षासँगै महिलाको समग्र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए । उनले साइबर सुरक्षामा महिला नेतृत्व विकास आजको अपरिहार्य आवश्यकता भएको बताए । महिलाहरूका लागि डिजिटल सुरक्षासँगै आत्मरक्षा तालिमको समेत आवश्यकता रहेको उनको भनाई छ । कार्यक्रममा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे र महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधि क्षेत्रमा महिला सहभागिता वृद्धि र नेतृत्व विकासको रणनीतिक महत्वका बारेमा आफ्ना धारणा राखेका थिए । नेपाल दूरसञ्चार प्राधिकरणकी उप–निर्देशक रोजा किरण बासुकलाले नीतिगत तथा संस्थागत तहमा महिला नेतृत्व सुदृढ गर्नुपर्नेमा जोड दिइन् । छलफलमा बैंकिङ क्षेत्रको डिजिटल सुरक्षा, नियामक चुनौती तथा साइबर सुरक्षामा महिलाको भूमिका र सम्भावनाबारेमा पनि विस्तृत अन्तरक्रिया गरिएको थियो । कार्यक्रमले नेपालमा साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन, महिला नेतृत्व प्रवर्द्धन तथा लैङ्गिक समानता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।