काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही चैत २२ गतेदेखि हाल कायम रहेको चुक्ता पुुँजीको सत् प्रतिशतको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
सो अनुसार कम्पनीले हाल कायम रहेको एक कित्ता सेयर बराबर नयाँ एक कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । जसअनुसार एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गरिने कम्पनीले जानकारी दिएको छ । हकप्रद सेयर निष्कासनसम्बन्धी प्रयोजनको लागि कम्पनीले फागुन एक गते बुक क्लोज गरिसकेको छ । यस अनुसार माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा २०८३ वैशाख १३ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत् गृह रहेको स्थान थप्रेक, नुवाकोट र एनआईसी एसिया बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।