काठमाडौं । बैंकिङ क्षेत्रमा औसत निष्क्रिय कर्जा रकम बढेर पाँच प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिना अर्थात् माघ मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहितमा औसत ५.४२ प्रतिशत निष्क्रिय कर्जा देखिएको हो ।
बैंक तथा वित्त गरी कुल ५४ संस्थाहरूले यो अवधिमा ७७ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ कुल निक्षेप संकलन गरेका छन् । जसबाट कुल ५७ खर्ब ८५ अर्ब ८६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह हुँदा औसतमा पाँच दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको राष्ट्र बैंकले जनाएको छ ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ५० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ६७ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब ३३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । चालू आवको पछिल्लो सात महिनाको अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल ६९ खर्ब ६३ अर्ब चार करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ४५ अर्ब २१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ७३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरूले कुल ६० खर्ब एक अर्ब ६१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब १८ अर्ब ४४ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
विकास बैंकहरूले भने चालू आवको माघ मसान्तसम्ममा छ खर्ब २७ अर्ब ७७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ३६ अर्ब १० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा पाँच दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ६७ प्रतिशले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले छ खर्ब तीन अर्ब ५१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा पाँच दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको माघ मसान्तसम्ममा फाइनान्स कम्पनीहरूले भने कुल एक खर्ब ३७ अर्ब १७ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ५३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ११ दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ९९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब २६ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ५५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा १२ दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।