रियो दि जेनेरियो । पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक वर्ष करिब ३० हजार किलोमिटर उडान भर्ने अद्भुत शोरबर्ड प्रजाति हड्सनियन गोडविट अहिले अस्तित्वकै संकटमा पुगेको छ । जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको संख्या चार दशकमा ९५ प्रतिशतले घटेको तथ्यले विश्व संरक्षण प्रयासमाथि गम्भीर प्रश्न खडा गरेको छ । आर्कटिकबाट दक्षिण अमेरिकाको पुछार प्याटागोनियासम्मको कठिन यात्रा गर्दै फेरि फर्किने यो चरालाई विश्वकै असाधारण यात्रु प्रजातिमध्ये एक मानिन्छ । तर बदलिँदो वातावरणीय अवस्थाले यसको बाँच्ने आधार नै कमजोर बन्दै गएको वैज्ञानिकहरू बताउँछन् । ब्राजिलमा सोमबारदेखि सुरु हुने आप्रवासी प्रजातिको संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (सिएमएस) को बैठकमा हड्सनियन गोडविटलाई अन्तर्राष्ट्रिय संरक्षण आवश्यक पर्ने ४२ प्रजातिको सूचीमा राखिएको छ । यस सूचीमा ह्यारी पोटरमा देखाइने हिउँ पर्ने उल्लू, धारीदार हाइना र ह्यामरहेड शार्कजस्ता अन्य जोखिममा रहेका जीवहरू पनि समावेश छन् ।
म्यासाचुसेट्स एम्हर्स्ट विश्वविद्यालयका पारिस्थितिकीविद् नाथन सेनरका अनुसार प्रवासी चराहरूले ‘छिटो र नाटकीय गिरावट’ को सामना गरिरहेका छन् । उनले विगत २० वर्षदेखि यस प्रजातिको अध्ययन गर्दै आएका छन् । उनका अनुसार गोडविटले एकै पटकमा ११ हजार किलोमिटरसम्म बिना रोकटोक उड्न सक्छ, जहाँ उसले खान, पिउन वा आराम गर्नसमेत पाउँदैन । तर यस्तो ‘महाकाव्य उडान’ सफल बनाउन यात्राको हरेक चरणमा पर्याप्त र भरपर्दो खाद्य स्रोत आवश्यक पर्छ । अहिले यही पूर्वानुमानयोग्यता बिग्रँदै गएको छ । आर्कटिक क्षेत्रमा वसन्तको समय परिवर्तन हुँदा बच्चा हुर्किने समय र कीराहरूको उपलब्धताबीच असन्तुलन देखिएको छ, जसले चराको जीवनचक्रमा असर पारेको छ । रासस/एएफपी