काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानको कदम चालिएको बताएकी छिन् ।
मन्त्रालयमा आइतबार आयोजित कर्मचारीहरूसँगको विदाई कार्यक्रममा मन्त्री गौतमले औषधि तथा उपकरण खरिद प्रक्रिया, औषधि व्यवस्थापन र स्वास्थ्य बीमाको क्षेत्रमा आफूले समस्या पहिचान गरी समाधानतर्फ कदम चालेको बताएकी हुन् । उनले स्वास्थ्य बीमाभित्र झन्डै एक दशकदेखि थुप्रिएका विकृतिका चाङ मसिनोसँग केलाएर सुधारका कार्य अगाडि बढाइसकेको दाबी गरिन् । बीमाले भोगेको आर्थिक समस्या केही हदसम्म कम हुने उनको भनाइ छ । आफूले चुनौतिका बीच मन्त्रालयको नेतृत्व सम्हालेको उल्लेख गर्दै उने प्राथमिकतामा राखेका कामले प्रगति हासिल गरेको बताइन् । मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा थाहा थियो मन्त्रालयको काम चुनौतीपूर्ण छ, तर त्यहाँ ठूलो सम्भावना पनि छ । उनले भनिन्, ‘आज निर्वाचन सम्पन्न भएको छ । नयाँ सरकार बन्दै छ, यस्तो समयमा म यहाँबाट बिदा लिँदै गर्दा तपाईंको कामप्रति सम्मान र हामीले सँगै हासिल गरेका प्रगतिप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’
मन्त्री डा. गौतमले मानसिक स्वास्थ्य, आप्रवासी कामदारको स्वास्थ्य, उच्च जोखिम भएका प्रदेशमा मातृ तथा शिशु स्वास्थ्यमा पनि सुधार गरेको बताइन् । पाँच महिनामा आफूले औषधि व्यवस्था विभागको स्तरवृद्धिको योजना, राष्ट्रिय औषधि प्रयोगशालाका लागि नयाँ भवन निर्माणको गुरुयोजना र मन्त्रालयमा औषधि मामिला महाशाखा स्थापनाको प्रारूप तयार पार्ने कार्य अन्तिम चरणमा पुर्याएको जानकारी दिइन् । औषधिमा गरेको कामले भविष्यमा औषधिको गुणस्तर, मूल्य, र नवप्रवर्तनको विकासमा ठूलो योगदान दिने उनको विश्वास छ । देशभरिका सबै सङ्घीय अस्पतालमा मनोपरामर्श केन्द्र स्थापना गरेको उनले जानकारी दिइन् । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिवद्वय डिल्लीराम शर्मा र डा. विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केदारबहादुर ढकाल, मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी, मन्त्रालय मातहतका केन्द्र तथा अस्पतालका निर्देशकलगायतको उपस्थिति थियो ।