काठमाडौं । शेर्पा समुदायका आठ प्रमुख अमूर्त सांस्कृतिक तत्वहरूलाई औपचारिक रूपमा प्रमाणीकरण गरिएको छ । सोलुखुम्बुको थामेमा सम्पन्न दुई दिने अन्तिम कार्यशालाले समुदायका प्रमुख अमूर्त सांस्कृतिक तत्वहरूलाई प्रमाणीकरण गरेको हो ।
कार्यशालामा सन् २०२४ अगस्टमा गएको हिमताल विष्फोटन पछिको बाढी (ग्लोफ) ले थामेको जीवन्त सम्पदाहरूमा पारेको प्रभावको विस्तृत मूल्यांकन गरिएको थियो । कार्यशाला थामेमा हिमताल विष्फोटन बाढीबाट प्रभावित आदिवासी समुदायको जीवन्त सम्पदा मूल्यांकन गर्न ‘हेरिटेज इमर्जेन्सी फन्ड’को सहयोगमा गरिएको हो । यो कार्यशाला अन्तिम चरणमा पुगेको छ । समुदाय केन्द्रित यस पहलले यसअघि दुईवटा नोभेम्बर २०२५ मा थामे र फेब्रुअरी २०२६ मा काठमाडौँमा दुईवटा कार्यशाला गरेको थियो । सो कार्यशालामा स्थानीय महिला समूह र आदिवासी युवाहरूसहित ३० भन्दा बढी स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्धि गरिएको थियो ।
यस अन्तिम कार्यशालाको मुख्य उद्देश्य समुदायद्वारा पहिचान गरिएका र विज्ञहरूद्वारा दस्ताबेजीकरण गरिएका अमूर्त सांस्कृतिक सम्पदाका तत्वहरूले शेर्पा संस्कृतिको गहिराइलाई प्रतिविम्बित गर्नु थियो । कार्यशालाको दौरान गहन छलफलहरूमार्फत सहभागीहरू र विज्ञहरूद्वारा तयार पारिएको आठवटा अमूर्त सांस्कृतिक सम्पदा तत्वहरूको मस्यौदा सूचीलाई प्रमाणीकरण गरिएको हो । प्रस्तावित सूचीमा समेटिएका तत्वहरू खाद्य र सम्बन्धित सीपमा ‘थो’, परम्परागत शिल्प कौशल, सीप र प्रविधिमा ‘क्षरा’ , प्रकृति र ब्रह्माण्ड सम्बन्धी ज्ञानमा ‘नावा र दी’, सामाजिक कार्य, रीतिरिवाज र चाडपर्वमा ‘दुब्छो’, ‘मनी रिल्डुुप’, ‘ल्होसार’ र ‘लोतक बुलो’ रहेका छन् । यी तत्वहरूलाई समुदायको समृद्ध सम्पदाको प्रतिनिधिको रूपमा समावेश गरिएको छ । यसले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा सूचीमा यी तत्वहरूलाई समावेश गराउने बाटो खोलेको छ । कार्यशालामा सहभागी युवाहरूले यस प्रक्रियाबाट आफ्नो सांस्कृतिक जरा बुझ्न र अभिलेखीकरणको महत्व सिक्ने अवसर पाएको बताएका छन् । थामिचोवा युवा समूहका अध्यक्ष फुरा कामी शेर्पाले युवाहरूले अग्रजबाट ज्ञान सिक्ने अवसर पाएको उल्लेख गरे । साथै, परम्परागत ज्ञान र अभ्यासहरू विपद् जोखिम न्यूनीकरण र दिगोपनका लागि कति महत्वपूर्ण छन् भन्ने विषयमा समेत छलफल गरिएको थियो । स्थानीय सहभागी टासी शेर्पाका अनुसार सम्पदाको अभिलेखीकरणले आफ्नो ठाउँ बुझ्न चाहने नयाँ पुस्तालाई महत्वपूर्ण सहयोग पुर्याउँछ ।