काठमाडौं । हिल्टन होटलको पुनर्बीमामा बदनियत देखिएको भन्दै नेपाल बीमा प्राधिकरणले तीनवटा कम्पनी तथा एक व्यक्तिलाई कारबाही गरेको छ ।
प्राधिकरणका निर्देशक तथा प्रवक्ता पुजन ढुंगेल अधिकारीका अनुसार ‘हुलदङ्गा तथा आतङ्कवाद जोखिम’ सम्बन्धी पुनर्बीमामा निर्देशनविपरीत कार्य गरेको देखिएकाले सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि–इन्स्योरेन्स कम्पनी, दि ओरियन्टल इन्स्योरेन्स कम्पनी र एलियन्ट पुनर्बीमा ब्रोकर कम्पनीलाई कारबाही गरिएको हो ।
कारबाहीअन्तर्गत नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालाई ‘आगामी दिनमा यस्तो कार्य गर्ने छैनँ’ भन्ने किसिमको कबुलियत गरिएको छ । यसबाहेक हिमालयन रि–इन्स्योरेन्सलाई दुई लाख रुपैयाँ तथा दि ओरियन्टल इन्स्योरेन्स कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना तोकिएको प्रवक्ता ढुंगलले जानकारी दिइन् । ‘यसैगरी एलियन्ट पुनर्बीमा कम्पनीको हकमा भने तीन महिनाको लागि इजाजतपत्र निलम्बन गरिएको हो’, उनले भनिन् ।
बीमा ऐन र निर्देशनविपरीत नियोजित रूपमा हिल्टन होटलको जोखिमको पुनर्बीमा हिमालयन रि–इन्स्योरेन्समा गरेको र सो जोखिमको दायित्व भने सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीमा सार्ने प्रयास गरिएको देखिएपछि कारबाही गर्नुपरेको प्रवक्ता ढुगेलको भनाइ छ । बीमा ऐन, २०७९ को दफा १३८ (४) अनुसार कारबाही गरिएको प्राधिकरणको भनाइ छ । जेन–जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते हिल्टन होटलमा आगजनी हुँदा यो होटल जलेर पूर्णरूपमा क्षति भएको थियो । सोपश्चात् कम्पनीले झण्डै अर्ब रुपैयाँबराबरको बीमा रकम मागदाबी गरेको थियो ।
प्राधिकरणका प्रवक्ता ढुंगेलका अनुसार हिल्टन होटलको बीमा दाबीमा देखिएको बदनियतमा संलग्न बीमा कम्पनीबाहेकका अन्य चारवटा कम्पनीहरूलाई पछिल्लो पटक कारबाही गरिएको छ । यसरी कारबाही गरिएका कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीहरूलाई बीमा ऐन, २०७९ निर्दिष्ट गरेका ऐनविपरीत कार्य गरेको आधारमा कारबाही गरिएको प्रवक्ता ढुंगेलको भनाइ छ ।
अग्रीम भुक्तानीसहित करिब तीन अर्ब दुई करोड पुनर्बीमा दाबी भुक्तानी
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब तीन अर्ब दुई करोड अग्रीम भुक्तानी समेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।
प्राधिकरणका अनुसार नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कुल दुई हजार आठ सय ६२ वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १६ अर्ब ६२ करोड रहेको अद्यावधिक तथ्यांक रहेको छ ।
जेन–जी आन्दोलनका कारण भएको क्षतिमा पाँच अर्ब १८ करोड भुक्तानी
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिमा हालसम्म हालसम्म पाँच अर्ब १८ करोड रुपैयाँ भुक्तानी भएको देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिमा निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल तीन हजार तीन सय तीनवटा बीमा दाबीको करिब २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रीम भुक्तानी समेत गरी करिब पाँच अर्ब १८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका हुन् ।
प्राधिकरणका अनुसार हालसम्म १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट कम्पनीहरूबाट अग्रीम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ सात सय १० वटा बीमा दाबीको दाबी रकम करिब १९ अर्ब दुई करोड रुपैयाँमध्ये करिब तीन अर्ब ८२ करोड रुपैयाँ भुक्तानी भएको छ । यसैगरी मोटर बीमातर्फ दुई हजार तीन सय ११ वटा बीमा दाबीको दाबी रकम करिब तीन अर्ब ४७ करोडमध्ये करिब एक अर्ब २२ करोड भुक्तानी भएको छ । यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ दुई सय २५ वटा बीमा दाबीको करिब ५५ करोड ४७ लाख दाबी रकममध्ये करिब सात करोड ५० लाख रुपैंयाँ भुक्तानी भएको छ । परिवहन बीमातर्फ पनि १२ वटा बीमा दाबीको करिब एक करोड ६९ लाख दाबी रकममध्ये करिब एक करोड ५५ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिब ३८ करोड ४० लाख दाबी रकममध्ये करिब पाँच करोड ५० लाख अग्रीम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।