काठमाडौं । विपन्न वर्ग क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरूले झण्डै तीन खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षको माघसम्ममा ५७ खर्ब ८५ अर्ब कुल कर्जा प्रवाह भएकोमा सो शीर्षकमा बैंक तथा फाइनान्स कम्पनीहरूले दुई खर्ब ७६ अर्ब ६२ करोड ८० लाख प्रवाह गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिसम्मको निक्षेप संकलन भने कुल ७७ खर्ब २७ अर्ब ९९ करोड पुगेको छ । विपन्न वर्गमा प्रवाहित सो कर्जा कुलमध्ये पाँच दशमलव २९ प्रतिशत हो । गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ६४ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड २० लाख कम कर्जा प्रवाह भएको हो । गत आवको सोही अवधिमा कुल ६७ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब ३३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ९३ प्रतिशतका दरले हुन आउने दुई खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र चालू आवको माघ मसान्तसम्ममा कुल ६९ खर्ब ६३ अर्ब चार करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ४५ अर्ब २१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये पाँच दशमलव २० प्रतिशतका दरले हुन आउने दुई खर्ब ४१ अर्ब ४३ करोड ३० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ५४ प्रतिशत अर्थात् छ अर्ब ४५ करोड ७० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ६० खर्ब एक अर्ब ६१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब १८ अर्ब ४४ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ४७ प्रतिशतका दरले हुन आउने दुई खर्ब ४७ अर्ब ८९ करोड रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले पनि चालू आवको माघ मसान्तसम्ममा कुल छ खर्ब २७ अर्ब ७७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ३६ अर्ब १० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा छ दशमलव शून्य छ प्रतिशतका दरले हुन आउने ३० अर्ब ६१ करोड १० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ४१ प्रतिशत अर्थात् पाँच अर्ब ९९ करोड ४० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल छ खर्ब तीन अर्ब ५१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १३ अर्ब ४३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा सात दशमलव ४७ प्रतिशतका दरले हुन आउने ३६ अर्ब ६० करोड ५० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले पनि चालू आवको माघ मसान्तसम्ममा कुल एक खर्ब ३७ अर्ब १७ करोड ४० लाख रुपैयाँबराबरको निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ५३ करोड ८० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा पाँच दशमलव ९४ प्रतिशतका दरले हुन आउने चार अर्ब ५८ करोड ४० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव शून्य छ प्रतिशत अर्थात् ३० करोड १० लाख रुपैयाँले कम हो ।
गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब २६ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ५५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव शून्य पाँच प्रतिशतका दरले हुन आउने चार अर्ब ८८ करोड ८५ लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।