म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइनको टावर निर्माण भएको जग्गाका धनीहरूलाई तीन करोडभन्दा बढी मुआब्जा वितरण भएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले कायम गरेको मूल्यअनुसार टावर निर्माण भएको जग्गाका धनीहरूलाई मात्र हालसम्म तीन करोड २९ लाख ६४ हजार ५६७ मुआब्जा वितरण भएको हो । आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सिनाले मुआब्जाबापत दुई करोड २९ लाख २९ हजार ७२८ वितरण भएको जानकारी दिए । उनका अनुसार आयोजनाको ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडीबी)को कार्यविधिअनुसार गरिब, महिला प्रमुख घरपरिवार, दलित/जनजाति, अशक्तको आधारमा थप एक करोड ३४ हजार ८३९ रुपैयाँ वितरण भएको हो ।
२५ किलोमिटर दूरीको प्रसारण लाइनका ८२ टावरमध्ये ४० वन क्षेत्र र ४२ व्यक्तिगत जग्गामा छन् । हालसम्म ६६ जनाले मुआब्जा लगिसकेको र सात जनाले मुआब्जा लैजाने प्रक्रियामा रहेका प्रशासकीय अधिकृत तिमिल्सिनाले बताए । वि.सं २०७९ मा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले यस आयोजनाको टावर रहने जग्गाका धनीहरूलाई प्रतिरोपनी नौ लाखदेखि १३ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा निर्धारण गरेको थियो ।
तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
प्रसारण लाइनको तारमुनि भोगाधिकार क्षेत्रमा पर्ने जग्गाका धनीहरूलाई पनि क्षतिपूर्ति वितरण गर्न दररेट निर्धारणको प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । प्रसारण लाइनको बीच भागदेखि दायाँ र बायाँ नौ–नौ मिटरमा रहेको निजी जग्गाका धनीहरूले क्षतिपूर्ति पाउने व्यवस्था छ । चार सय ५४ कित्ता जग्गा प्रसारण लाइनको तारमुनि भोगाधिकार क्षेत्रमा पर्ने प्रारम्भिक विवरण संकलन भएको छ ।
यसैगरी क्षतिपूर्ति वितरणका लागि पहिलो चरणमा तारमुनि पर्ने २२ वटा घरटहराको पहिचान भएको छ । तारमुनि पर्ने थप भौतिक संरचनाको पहिचान कार्यलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ । आयोजनाले सबस्टेसन निर्माणका लागि मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा ५१ रोपनी र रघुगङ्गा गाउँपालिका–३ राहुघाट अम्बाङमा ९० रोपनी जग्गा अधिग्रहण गरेको थियो । वन क्षेत्र प्रयोग गरेबापत चार करोड ५० लाख रुपैयाँमा ५०४ रोपनी जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराइसकेको छ ।
भौतिक प्रगति ७८ प्रतिशत
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी र राहुघाट बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन यो आयोजना सञ्चालन भएको हो । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा तीन अर्ब ५७ करोड रुपैयाँमा लार्सन एन्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । पहिलोपटकको म्याद गत जुलाई १६ र दोस्रोपटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ मे १६ सम्मका लागि तेस्रोपटक म्याद थपिएको छ ।
प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त नहुनु, राहुघाट सबस्टेसन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले निर्माण अवधि लम्बिएको आयोजना प्रमुख रोशन अग्रवालले बताए । उनका अनुसार अबको पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदारले निर्माणकार्यलाई तीव्रता दिएका छन् । एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको हालसम्म ८२ वटामध्ये ७१ वटा खडा भएका छन् । दुईवटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । दश दशमलव पाँच किलोमिटरमा तार तान्ने काम पनि सकिएको आयोजनाका इन्जिनियर सुरज गुरुङले बताए । प्रसारण लाइन र सबस्टेसनको उपकरण आयात भइसकेको छ ।
डाँडाखेतको सबस्टेशनमा ९५ प्रतिशत, प्रसारण लाइनमा ७० प्रतिशत र राहुघाट सबस्टेसनमा ६५ प्रतिशत प्रगति भएको छ । एलएनटीका आयोजना व्यवस्थापक सुभाषचन्द्र शर्माले मजदुर र उपकरण थपेर तोकिएको समयभित्र सम्पन्न गराउने प्रतिबद्धता जनाए । ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाँडाखेत सबस्टेसनमा १३३/३३ केभी, ३० एमभीए क्षमता र एआईएस प्रविधिको उपकरण जडान भइरहेको छ । २२०/१३२/३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने जीआईएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
कुल चार अर्ब ८८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि एक अर्ब पाँच करोड रुपैयाँ विद्युत् प्राधिकरण र तीन अर्ब ८२ करोड रुपैयाँ एसियाली विकास बैंकको ऋण लगानी छ । एसियाली विकास बैंकसँग भएको २७ मिलियन डलर ऋण सम्झौता पछिल्लोपटक बढाएर ३१ मिलियन डलर बनाइएको छ । एसियाली विकास बैंकले विद्युत् प्रसारण लाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट–डाँडाखेत प्रसारण लाइन बनाउन ऋण लगानी गरेको हो ।
चारवटा जलविद्युत् आयोजना निर्माण सुरु
म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपूर्ति गराएका छन् ।