काठमाडौ । महिला उद्यमी महासंघ नेपालले नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ ।
महासंघले मंगलबार पत्रकार सम्मेलन गरी चैत २० गतेदेखि २२ गतेसम्म ललितपुरमा मेला आयोजना गर्ने जानकारी दिएको हो । महासंघकी अध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेलामा सातै प्रदेशका महिला उद्यमीहरूले आफ्ना मौलिक उत्पादनहरू प्रदर्शन गर्नेछन् । मेलामा तीन सय महिला उद्यमीले एक सय ४० स्टलमार्फत आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने उनले जानकारी दिइन् । प्रदर्शनीमा सातै प्रदेशका हस्तकला, ढाका, गलैँचा, हातेकागज, जैविक खाद्यपदार्थ, जडीबुटी, कृषिजन्य उत्पादन, गरगहना तथा सेवा क्षेत्रसँग सम्बन्धित सामग्री राखिने छ । उनका अनुसार कोशी प्रदेशबाट अल्लो, बाँस तथा प्राकृतिक रेसाजन्य सामग्री, मधेसबाट मिथिला आर्ट, बागमतीबाट डेरी तथा हस्तकला, गण्डकीबाट जडीबुटी तथा ढाका, लुम्बिनीबाट परम्परागत खाद्यवस्तु, कर्णालीबाट राडीपाखी र सुदूरपश्चिमबाट गलैँचा तथा काठका सामग्री प्रदर्शन गरिने छ । मेलामा देशभरका ग्रामीण तथा सहरी क्षेत्रका सफल महिला उद्यमीहरूलाई पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
मेलामा भारत, चीन, कोरिया र भुटानका महिला उद्यमीहरूले पनि आफ्ना उत्पादनहरू प्रस्तुत गर्नेछन् । यसले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ । अध्यक्ष क्षेष्ठका अनुसार मेलाका आकर्षणहरूमा ‘र्याम्प वाक’, समूहगत छलफल, कार्यशाला, डिजिटलाइजेसन तालिम र वित्तीय साक्षरतालगायत कार्यक्रम समावेश छन् । मेलाले महिला उद्यमीहरूलाई आफ्नो रैथाने तथा मौलिक उत्पादनको प्रदर्शन, बजार विस्तार, नेटवर्किङ र व्यापारिक सहकार्यको अवसर प्रदान गर्ने आयोजकको विश्वास छ । मेलाले महिला उद्यमीहरूले उत्पादन प्रवर्द्धन गर्ने, एकआपासमा नेटवर्किङ र व्यापारिक सहकार्य बढाउने, महिला उद्यमीहरूबीच ज्ञान, अनुभव, प्रविधि तथा सीपको आदान–प्रदानलाई प्रोत्साहन गर्ने उदेश्य राखेको छ ।
मेलामा अपाङ्गता भएका महिला उद्यमीहरूका निःशुल्क स्टलहरू तथा स्र्टाट अप महिला उद्यमीहरू, युवा र जिल्लाका उद्यमीहरूलाई सहुलियत दरमा स्टल उपलब्ध गरिएको आयोजकले जनाएको छ । यस व्यापार मेलामा करिव २ करोड बरावरको कारोवार हुने र ५० हजार भन्दा बढी अवलोकनकर्ताले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ । महासंघले नेपालभरका ७७ जिल्लामा जिल्ला महिला उद्यमी संघ स्थापना गरी ६ हजार भन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको जनाएको छ ।