काठमाडौ । एचडीपी पाइप उत्पादक संघले विश्वव्यापी आपूर्ति संकटका कारण एचडीपी पाइपको मूल्यवृद्धि भएको जनाएको छ ।
संघले विज्ञप्ति जारी गरी हालको मूल्यवृद्धि विश्वव्यापी आपूर्ति संकटसँग जोडिएको स्पष्ट पारेको हो । एचडीपी पाइपमा ३० देखि ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । संघका अनुसार मध्यपूर्व र पश्चिम एसियामा जारी भू–राजनीतिक तनावका कारण कच्चा तेल आपूर्ति प्रभावित हुँदा एचडीपी पाइप उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ (एचडीपी ग्रान्युल्स) आयातमा अवरोध आएको छ । भारतलगायत तेस्रो मुलुकबाट हुने ढुवानी अवरुद्ध हुँदा केही उद्योगहरूमा कच्चा पदार्थको मौज्दात सकिएको र कतिपय उद्योग बन्दसमेत भएको संघले जनाएको छ । कच्चा पदार्थको मूल्य करिब ६२ प्रतिशतले बढेको उल्लेख गर्दै संघले इन्धन मूल्यवृद्धि र अमेरिकी डलरको विनिमय दर वृद्धिले लागत थप बढाएको उल्लेख गरेको छ । ‘माग र आपूर्तिको आधारमा मूल्य निर्धारण हुने भएकाले हालको अवस्थामा मूल्य स्थिरताको सीमा निर्धारण गर्न कठिन छ,’ संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
संघले विभिन्न खानेपानी आयोजना, गैरसरकारी संस्था, निर्माण व्यवसायी र स्थानीय तहसँग भएका आपूर्ति सम्झौतामा मूल्य र समयसीमा पुनः समायोजन गर्न आग्रह गरेको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरूलाई पनि यस्तो परिस्थितिमा लचकता अपनाउन अपिल गरेको छ । संघले बजारमा कृत्रिम मूल्यवृद्धि गर्नेहरूमाथि कानुनी कारबाही गर्न पनि सरकारसँग माग गरेको छ । ‘उद्योगीहरूले नैतिकता कायम गर्दै व्यवसाय सञ्चालन गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।