काठमाडौं, पुस १०
जनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (यूजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ । क्यूएए (क्वालिटी असुरेन्स एण्ड एक्रेडिटेसन) भनिने उक्त प्रमाणपत्रले क्याम्पसमा आवश्यक पूर्वाधार तथा सुविधा हुनुका साथै गुणस्तरीय पढाइ तथा शैक्षिक क्रियाकलाप हुने कुरालाई प्रमाणित गरेको छ ।
काठमाडौं उपत्यकामा क्यूएए प्रमाणपत्र पाउने पहिलो उच्च शैक्षिक संस्थाहरुमध्ये जनमैत्री एक हो । २०४७ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापित यो क्याम्पसले गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा योगदान दिँदै आएको जनाएको छ । क्यूएए पाउनका लागि क्याम्पसले नीति तथा प्रक्रिया, पाठ्यक्रम, अध्ययन अध्यापन तथा मूल्यांकन, अनुसन्धान, परामर्श तथा विस्तार, पूर्वाधार तथा सिकाइ स्रोत, भौतिक सुविधा तथा पाठ्यसामग्री, विद्यार्थी मागनिर्देशन, सूचनाप्रणाली र जनसम्पर्क गरी आठ शीर्षकमा आफूलाई अब्बल साबित गरेको दाबी गरेको छ । विश्वविद्यालय अनुदान आयोग (युजीसी)ले २०७३ सालमा जनमैत्री बहुमुखी क्याम्पसको प्रिभिजिट गरेर सुधार गर्नुपर्ने केही कामहरु औंल्याएको थियो । तीमध्ये भवन तथा अन्य पूर्वाधार निर्माणको कार्य प्रमुख थियो ।
२०७२ सालको विनाशकारी भूकम्पमा आफ्ना सबै भवन र कक्षाकोठा गुमाएकाले क्याम्पसका लागि पूर्वाधार निर्माण गर्नु चुनौतीपूर्ण थियो । जसले क्यूएए पाउने सपनालाई केही वर्ष पछि धकेलेको थियो । तर, निरन्तर प्रयासले क्याम्पसले आवश्यक लगभग सबै पूर्वाधारहरु निर्माण सम्पन्न गरेको क्याम्पसले जनाएको छ । आवश्यक पूर्वाधार निर्माण कार्यले गति लिएपछि २०७५ मंसिरमा प्रा.डा. प्रेमराज पन्त नेतृत्वको युजीसीको अनौपचारिक निरीक्षण कमिटीले क्याम्पसको स्थलगत अनुगमन गरेको थियो । युजीसीका प्रतिनिधिसमेत सम्मिलित सो कमिटिले दिएको सुझावका आधारमा क्याम्पसले पूर्वाधार निर्माण सम्पन्न गरेको छ । क्यूएए प्राप्त गरेपछि जनमैत्री बहुमुखी क्याम्पसलाई जिम्मेवारी र चुनौती दुवै थपिएको बताएको छ ।