काठमाडौँ । बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्तिको ग्राफ निरन्तर उकालो लागेको देखिएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल गैरबैंकिङ सम्पत्ति बढेर ५१ अर्ब २० करोड ५० लाख रुपैयाँ कायम भएको छ । यस अवधिमा बैंकिङ क्षेत्रमा कुल निष्क्रिय कर्जाको अनुपात भने पाँच दशमलव ४२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा औसतमा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय हुँदा कुल गैरबैंकिङ सम्पत्ति ४१ अर्ब ७४ करोड १० लाख रुपैयाँ रहेको थियो । यो तथ्यांकअनुसार बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जाको ग्राफ निरन्तर बढ्दै जाँदा गैरबैंकिङ सम्पत्ति पनि बढ्दै गएको देखिएको छ । पछिल्लो दुई आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा बैंकिङ क्षेत्रमा औसत निष्क्रिय कर्जा शून्य दशमलव ५० प्रतिशतले बढ्दा कुल गैरबैंकिङ सम्पत्ति नौ अर्ब ४६ करोड ४० लाख रुपैयाँले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको माघ मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमा मात्र औसतमा पाँच दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय हुँदा ४३ अर्ब ४४ करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा चार दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय देखिँदा ३५ अर्ब ८२ करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । यो तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा शून्य दशमलव ५३ प्रतिशतले निष्क्रिय कर्जा बढ्दा कुल गैरबैंकिङ सम्पत्तिमा सात अर्ब ६२ करोड रुपैैयाँले थप भएको छ ।
यसैगरी क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूमा पनि चालू आवको माघ मसान्तसम्ममा पाँच दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय देखिँदा चार अर्ब ६१ करोड ७० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूमा पाँच दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय देखिँदा तीन अर्ब ५८ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । सोही आधारमा विकास बैंकहरूमा पछिल्लो समय शून्य दशमलव ६४ प्रतिशतले निष्क्रिय कर्जा बढ्दा कुल गैरबैंकिङ सम्पत्तिमा एक अर्ब तीन करोड ७० लाख रुपैयाँले थप भएको छ ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूमा भने चालू आवको माघ मसान्तसम्ममा ११ दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय देखिँदा तीन अर्ब १४ करोड ३० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा १२ दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय देखिँदा दुई अर्ब ३३ करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । यो तथ्यांकअनुसार फाइनान्स कम्पनीहरूमा पछिल्लो अवधिमा निष्क्रिय कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ९९ प्रतिशतले घटेको देखिएपनि कुल गैरबैंकिङ सम्पत्ति भने ८० करोड ८० लाख रुपैयाँले बढेको देखिएको छ ।