काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गरेका छन् ।
निर्वाचन आयोगले बुधबार आयोजना गरेको जलपान कार्यक्रममा उनले निर्वाचनमा मत फरक भए पनि राष्ट्रनिमार्णमा एकमत हुनुपर्ने बताए । स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबैले एकजुट भएर काम गर्नुपर्ने उनको भनाइ छ । उनले प्रतिनिधिसभा सदस्यको निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको उल्लेख गरे । उनले भने, ‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ राष्ट्रपति पौडेलले निर्वाचनमा भएको उत्साहपूर्ण सहभागिताले नेपालको लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको बताए । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको उनको भनाइ छ । मतदाताले दिएको मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको उनले बताए ।
आयोगले यस पटक निर्वाचनमा मतदाताको सहभागिता बढाउने, मितव्ययिता र पारदर्शिता कायम गर्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने, हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्नेलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको उनको भनाइ छ । निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले देशको जटिल र कठिन परिस्थितिबाट मुलुकलाई निकास दिन घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सफल रूपमा सम्पन्न भएको बताए ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिइन् । देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नु नपर्ने र शान्तिपूर्ण रूपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा पनि यथावत् राख्नुपर्ने उनको भनाइ थियो । गत भदौ अन्तिम साता आफू प्रधानमन्त्रीमा नियुक्त हुँदा कानुनी र राजनीतिक शून्यता, सुरक्षा संवेदशीलता भएको स्मरण गर्दै उनले त्यस्तो अवस्थाबाट निर्वाचन सम्पन्न गराइ लोकतान्त्रिक मूल्य मान्यतालाई लिकमा अघि बढाइएको बताइन् । सुरुका दिनमा निर्वाचन चुनौतीपूर्ण रहे पनि आयोगको अठोट र सरकारको सहयोगले निर्वाचन सम्भव भएको उनको भनाइ छ । निर्वाचन घोषणा भएपछि जारी गरिएको अध्यादेशअनुसार करिब १० लाख युवा मतदाताले उत्साहपूर्ण रूपमा मतदाता नामावलीमा नाम लेखाइ निर्वाचनमा सहभागी भएर जनप्रतिनिधि चुनेको उनले बताइन् ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान व्यहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै निर्वाचन सम्पन्न गरेको बताए । निर्वाचनको मिति घोषणादेखि निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई पेस गर्दासम्मको करिब छ महिनाका अवधिमा आयोगले जटिलता र व्यवधान व्यहोरेरै भए पनि निर्वाचन सम्पन्न गराएको उनको भनाइ छ । उनका अनुसार निर्वाचन घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता नगरिने कानुनी व्यवस्था रहेकोमा ठूलो संख्यामा युवा मतदाता मतदाता नामावलीमा दर्ता हुन बाँकी रहेको थियो । तत्कालीन अवस्थामा आयोगले ऐन संशोधनको प्रक्रिया अगाडि बढाउँदै राष्ट्रपतिबाट अध्यादेश जारी गराएर मतदाता नामावली दर्ता प्रणाली र राष्ट्रिय परिचयपत्र प्रणालीका बीचमा अन्तःआबद्धता कायम गरी मतदाता नामावली दर्ता कार्य अनलाइन रूपमा समेत गरिएको उनले बताए । निर्वाचनको बारेमा अनेक कोणबाट अभिव्यक्त संशयबीच आयोगले राजनीतिक दलहरूसँग परामर्श गरी निर्वाचनका लागि सहज र उपयुक्त वातावरण तयार गरिएको उल्लेख गरे । संविधान र कानुनले सुम्पिएको जिम्मेवारीअनुसार निर्वाचनमार्फत जनताको सार्वभौम अधिकारको अभ्यास सुनिश्चित गर्नु र लोकतन्त्रको थप सुदृढीकरणमा योगदान पु¥याउनु आयोगको प्रमुख दायित्व रहेको उनको भनाइ छ । उनले विषम अवस्था र चुनौतीपूर्ण परिस्थितिबीच निर्वाचन सफल रूपमा सम्पन्न गरेको बताए ।
आयोगले गरेको जलपान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।