काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता बढाउने उद्देश्यसहित अनलाइन गुनासो तथा सुझाव दर्ता प्रणाली सुरु गरेको छ ।
प्रतिष्ठानको अफिसियल वेबसाइटको होम पेजमा ‘हेल्लो बीपीकेआईएचएस’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याइएको प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब सेवाग्राहीहरुले घरमै बसेर सुझाव दिन र गुनासो दर्ता गर्न सकिने भएको छ । यसअघि गुनासो राख्न चाहने व्यक्तिले उपकुलपति कार्यालय परिसरस्थित योजना तथा अनुगमन महाशाखामा लिखित रूपमा निवेदन पेश गर्नुपर्ने वा प्रत्येक आइतबार दिउँसो ४ देखि ५ बजेसम्म प्रत्यक्ष उपस्थित भई समितिसँग भेट गर्नुपर्ने व्यवस्था थियो । अब भने मोबाइल वा कम्प्युटरमार्फत सिधै अनलाइन प्रणाली प्रयोग गर्न सकिने भएको हो । प्रतिष्ठानका अनुसार प्रयोगकर्ताले संस्थाको आधिकारिक वेबसाइटको होमपेजमा रहेको ‘हेल्लो विपीकेआईएचएस’ बटनमार्फत पोर्टलमा प्रवेश गरी नयाँ गुनासो विकल्प छनोट गर्नुपर्नेछ । त्यसपछि आवश्यक विवरण भरेर गुनासो दर्ता गर्न सकिने छ । आवश्यक परे प्रमाणसमेत अपलोड गर्ने सुविधा पनि उपलब्ध गराइएको छ ।
पोर्टलमार्फत दर्ता भएका गुनासो तथा सुझावको अवस्थाबारे अनुगमन गर्ने सुविधा समेत राखिएको छ । साथै, गुनासोकर्ता वा सुझावदाताको व्यक्तिगत विवरण पूर्ण रूपमा गोप्य राखिने प्रतिष्ठानले जनाएको छ । सेवा प्रयोगलाई सहज बनाउन पोर्टलमा अडियो निर्देशनसमेत समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई प्रक्रिया बुझ्न सहयोग गर्ने विश्वास गरिएको छ । प्राप्त गुनासो तथा सुझावलाई सम्बन्धित समितिले विश्लेषण गरी उपयुक्त ठहर भएका विषय उपकुलपति समक्ष पेश गर्ने र समाधानका लागि आवश्यक पहल गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।