श्री सम्पादकज्यू ,
उपरोक्त सम्बन्धमा तपाइँ सम्पादक रहेको ‘आर्थिक दैनिक’ पत्रिका सञ्चारमाध्यमबाट मिति २०८२/११/२८ गते विराटनगर भन्सारको आईसीपीमा ट्रान्स नेपालद्वारा अनधिकृत रकम असुल शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा मेरो देहायअनुसार बुँदागत प्रतिक्रिया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाई स्थान दिनुहुन अनुरोध गर्दछु ।
देहाय :
१. प्रकाशित प्रसारित सामग्रीमा ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रा.लि.ले ऐन विपरीत मालबाहक गाडीबाट भाडा असुली गरेको हो । यो तथाकथित सामग्रीलाई प्रमाणित गर्ने र के कुन शीर्षक यसरी ऐनविपरीत रकम असुली गरिएको छ यो प्रमाणहरुसमेत उपलब्ध गराइ पाउँ । साथै यस्ता कुनै पनि क्रियाकलाप यस कम्पनीद्वारा नगरिएको र असुल गरिएको भाडा नेपाल सरकारद्वारा उपलब्ध गराइएको रेट चार्टअनुसार रहेको व्यहोरा जानकारी गराउँदछौं ।
२. प्रकाशित प्रसारित सामग्रीमा गत फागुन १० गतेदेखि ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रा.लि. नामको नयाँ कम्पनीले भारतीय व्यापारीको साथमा आईपीसी कब्जा परेपछि बनिएको गलत रहेको र सो कम्पनीले आगामी पाँच वर्षका लागि न नेपाल सरकारमातहत रहेको नेपाल इन्टर मोडल यातायात विकास समितिबाट नियमपूर्वक विडमार्फत ठेक्का हासिल गरेको र आगामी सबलिज अवधिमा नियमपूर्वक सञ्चालन गर्ने सहमतिका साथ हस्तान्तरण लिएको हो ।
३. प्रकाशित प्रसारित सामग्रीमा ‘मन्सार विभागले बन्देज गरिएको शीर्षकमा पैसा उठाउन थालेको भनिएको’ भन्ने प्रसंगमा के कति रकम यसरी उठाइएको हो सो यकिन गर्ने प्रमाण उपलब्ध गराइ पाउँ । कम्पनीले यस्ता कुनै पनि रकम असुल नगरिएको भनी उल्लेख भएको छ ।
४. भन्सार एजेन्टले ट्रान्स नेपालले आईसीपीको गोदाममा सामान राखेवापत उद्योगी व्यापारीसँग दैनिक १० देखि १५ लाखसम्म भाडा असुली गर्ने गरेका आरोप लगाएका छन् । पछिल्लो समय भन्सार विभागले अधिकार नै नदिएको मालवाहक गाडी वजनको नामा अवैध रकम उठाएको विराटनगर भन्सारका भन्सार एजेन्टले बताए । ट्रान्स नेपालका नाममा जथाभावी असुली गर्न थालेपछि कतै भारतीय व्यवसायीबाट आईसीपी नै कब्जाको रणनीति लिएको होइन भन्ने गम्भीर प्रश्न उठेको उनको भनाइ छ । उनका अनुसार यसरी असुल गरिएको रकम मासिक रुपमा तीन अर्बको हाराहारीमा हुने गरेको छ । उक्त रकम विराटनगर भन्सारमा रहेको ट्रान्स नेपाल टीआरएस लोजीपार्क प्रा.लि.को खातामा सोझै जम्मा हुने गरेको रहस्य पनि भन्सार एजेन्टहरुले खोलेका छन् । भनिएको छ– यो कथनलाई पुष्टि गर्न माथि उल्लेख गरिएको रकम ट्रान्स नेपाल टिआरएस लोजी पार्क प्रा.लि.को के कुन खातामा गएको हो सो को रसिद वा स्टेटमेन्टसहित प्रमाणित गरिदिनुहुन अनुरोध गर्दछौं । कम्पनीले लिएको कुनै पनि रकम रकमवापत नियमतह ग्राहकलाई नगदी भ्याट रसिद दिने गरिएको छ र यसरी दिने गरिएको रसिदहरु नेपाल सरकारको प्रत्यक्ष निगरानीमा रहेको व्यहोरा जानकारी कम्पनी पक्षले गराउन चाहछौं । भन्सार विभागद्वारा अधिकार नदिएको कुनै पनि गाडी काँटा हुने नगरेको तर यदि ग्राहक वा ड्राइभर वा स्वयंले आफ्नो गाडीमा के—कस्तो सामानको विवरण थाहा नहुँदा सो गाडीको कांटा गराउन खोज्दा त्यसप्रति कम्पनी जिम्मेवार नरहेको समेत जानकारी गराउन चाहन्छौं । प्रत्येक गाडीको कांटाको दर नेपाल सरकार मातहत नेपाल इन्टरमोडल यातायात विकास समितिद्वारा किटेको रेट चार्टअनुसार रहेको व्यहोरा जानकारी गराउँदछौं ।
५. ‘ट्रान्स नेपालले भन्सार क्लियरिङ्गको काम गर्दै आएका भन्सार एजेन्टसँग आईसीपी प्रयोग गरेवापत प्रत्येक भन्सार एजेन्टसँग ५ देखि १० हजार रुपैयाँसम्म भाडा भन्दै असुल गर्ने गरेको गुनासो गरे’ भन्ने भनाइमा सो भाडा रकम लिनका लागि नेपाल सरकारमातहत नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टिआरएसए लोजी पार्क प्रा.लि.बीच भएको सम्झौतामा स्पष्ट उल्लेख गरिएको छ र सो सम्झौतामा दुवै पक्षको हस्ताक्षर रहेको जानकारी गराउँदछौंं । वीरगञ्ज र मेची भन्सारमा क्लियरिङ गर्न प्रयोग गरेको कार्यालयको वापत भाडासमेत दिने गरिएको छ । र सोको लागि कम्पनीले रसिदसमेत उपलब्ध गराउने गरिएको छ भनी जानकारी गराउन चाहन्छौं ।