काठमाडौं । नेपाल टेलिकमले डेनमार्क र दक्षिण कोरियामा अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवाको सुरु गरेको छ । टेलिकमको व्रयोग गरी अब अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको हो ।
कम्पनीले सेवा सञ्चालनका डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकमबीच सम्झौता गरेको छ । यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान–आरओसीमा पहिलेदेखि नै उपलब्ध रहेको छ । कम्पनीका अनुसार अब आठ देशमा भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । टेलिकमले यसका लागि ती देशका नौ सेवा प्रदायकसँग सम्झौता गरेको छ । विदेशमा समेत नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरी नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ । अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिन्छ । भोल्टी अर्थात् भ्वाइस ओभर एलटीई टेलिकमले राष्ट्रियस्तरमा पहिलेदेखि नै उपलब्ध गराइरहेको सेवा हो । यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि यो सेवा चल्ने हुनुपर्छ । आफ्नो मोबाइलको स्क्रिनको माथिल्लो भागमा एचडी वा भोल्टी लेखेको छ भने सो मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ भन्ने थाहा हुन्छ । यदि छैन भने स्टार४४४ह्याक्स डायल गरी ‘एक्टिभ भोल्टी’ विकल्प छानेर सेवा सुचारु गर्न सकिन्छ ।