काठमाडौं । क्रिप्टो कारोबारमा संलग्न रहेको भन्दै एक जना बंगलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिससर काठमाडौंका अनुसार ३० लाख रुपैयाँभन्दा बढीको अभौतिक मुद्रा अर्थात् क्रिप्टो कारोबार गरेको आरोपमा बंगालदेशको पावना घर भई हाल ठमेल छाँया सेन्टर बस्ने एमडी सेहाबुल इस्लामलाई पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनको मोबाइल फोनमा ३० लाख ४९ हजार सात सय ३६ बराबरको यूएसडीटीलगायत अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको थियो । उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २६२ (क) बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।
परिसरका अनुसार उनको साथबाट ६० हजार नेपाली नगद, एनटीसी र एनसीएलको सीमकार्ड नौ थान, मोबाइल दुई थान, विभिन्न बैंकको एटीएम, चेकबुक, विभिन्न बैंकको केवाइसी फर्म, दुई लाख रुपैयाँको चेक बरामद भएको छ ।