काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा बिहीबार उनीहरुले सपथ लिएका हुन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले विशेष समारोहका बीच उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए पनि बिहीबार बाँकी सदस्यको शपथ भएको हो । कुल २ सय ७५ प्रतिनिधिसभा सदस्यमध्ये ६३ भन्दा बढीले मातृभाषामा शपथ लिएका छन् । उनीहरुले अछामी, अवधि, डोटेली, छन्त्याल, कठरीया थारू, चाम्लिङ, तामाङ, थारू, नेपाल, बज्जिका, बझाङ्गी, बान्तावा, भोजपुरी, खाम, मगही, मैथिली, लिम्बू र संस्कृत भाषामा शपथ लिएका हुन् । साथै सांसदहरुले आफ्नो पहिचान झल्किने पोशाक लगाएका थिए ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १ सय ८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।