काठमाडौं । नेपाल नेत्रज्योति संघले एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरेको छ । संघको सञ्जालभित्र संस्थाहरुले ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको हो ।
संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले नेपाल सरकार तथा विभिन्न विकास साझेदार संस्थाहरुको सहयोग र अस्पतालहरुको आन्तरिक श्रोतबाट निःशुल्क उपचार गरिएको बताए । सन् २०२५ मा संघले ३३ लाख ७८ हजार ४२ जना आँखाका बिरामीहरुको आँखा परीक्षण गरेको बताए । तीमध्ये २ लाख ६६ हजार ४०१ जनाको शल्यक्रिया गरिएको र त्यसमा पनि २५ हजार ५ सय ६५ जनाको निःशुल्क शल्यक्रिया गरिएको उनले जानकारी दिए ।
संघका महासचिव भरतबहादुर चन्दले संघले नेपालीसंगै छिमेकी मुलुक भारत, बंगलादेश, भुटानलगायतका मुलुकका नागरिकहरुको समेत उपचार गर्ने गरेको बताए । उनका अनुसार सन् २०२५ मा मात्र संघको सञ्जालमार्फत ९ लाख ११ हजार ९८० जना विदेशी नागरिकहरुले आँखा परीक्षण गरेका थिए । तीमध्ये १ लाख ५३ हजार ८६ बिरामीहरुको शल्यक्रिया गरिएको र यसमा अधिकांश भारतीय नागरिकहरु रहेको उनले बताए । नेपालमा उपलब्ध उच्चस्तरीय आँखा उपचार सेवाका कारण विदेशी नागरिकहरूसमेत उपचारका लागि नेपाल आउने क्रम निरन्तर बढिरहेको उनको भनाइ छ । महासचिव चन्दले नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवाको पहुचमा ल्याउँदै नेपाललाई आँखा उपचारको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । यसका लागि सरकारसँग सहकार्य गर्दै दीर्घकालीन योजना तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढिरहेका उनको भनाइ छ ।
नेपालमा आँखा उपचारका क्षेत्रमा धेरै विकास भएतापनि अझै पनि धेरै नेपालीहरु आँखा उपचारसम्बन्धी जनचेतनाको अभावमा उपचारबाट बन्चित रहेका छन् । संघका अध्यक्ष प्राडा चेजराज पन्तका अनुसार नेपालका ७ वटै प्रदेशलाई समेट्ने गरी सन् २०२१ मा गरिएको आरएएबी सर्वेले समेत आँखा उपचारसम्बन्धी जनचेतनाका अभावमा सबैभन्दा बढी नागरिकहरु आँखा उपचार सेवाबाट बञ्चित रहेको देखाएको छ । उनले आँखा उपचारसम्बन्धी जनचेतना जगाउन आवश्यक रहेको बताए । संघले आँखा स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि, प्रविधिको प्रयोगमार्फत सेवा सुदृढीकरण तथा समुदायस्तरमा सचेतना विस्तारलाई अझ प्राथमिकतामा राखेको जनाएको छ ।
अध्यक्ष प्राडा पन्तले अब संघले आँखा उपचार सेवाको दायरालाई विस्तार गर्दे अन्धोपन न्यूनिकरणको अभियान सञ्चालन गर्ने जानकारी दिए । उनले भने, ‘अहिले नेपालमा अन्धोपनाको अवस्था शून्य दशमलब २८ प्रतिशत छ, यसलाई हामीले सन् २०३० सम्ममा ०.२० प्रतिशतमा झार्ने गरी काम गरिरहेका छौँ ।’ संघले रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण, समयमै परीक्षण र उपचारको पहुँच विस्तार, तथा बालबालिका, ज्येष्ठ नागरिक र जोखिममा रहेका समूहलाई लक्षित कार्यक्रमहरूलाई तीव्रता दिइने जनाएको छ । स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा संघले ५ करोड २ लाख ४८९ जना जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको जनाएको छ । ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको जनाइएको छ ।