विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ सरकार बनेपछि मुलुकमा आर्थिक क्षेत्र चलायमान हुने बताएका छन् ।
उद्योग सङ्गठन मोरङले सञ्चालन गरेको ‘घर निर्माण प्रदर्शनी’को बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले नयाँ सरकारको निर्माणबाट मुलुकमा राजनीतिक स्थायित्व कायम हुने भएकोले आर्थिक क्षेत्र चलायमान हुने बताएका हुन् । साथै उनले पुँजीगत खर्चमा वृद्धि भई समृद्धि कायम हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीले सङ्गठनले विराटनगरका पायक पर्ने स्थानमा चारदेखि पाँच कठ्ठा जग्गा उपलब्ध गराएमा आगामी दुई वर्षभित्र आधुनिक, सुविधा सम्पन्न प्रदर्शनीस्थल निर्माण गर्ने प्रतिबद्धता पनि जनाए । विराटनगरमा प्रदर्शनी अन्य स्थानमा भन्दा स्तरीय हुने भएकाले यसबाट जनता, निर्माण तथा सेवा व्यवसायीले लाभ लिने उनको भनाई छ ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छा र उद्योग व्यापार सङ्घ मोरङका अध्यक्ष अनुपम राठीले प्रदर्शनी निर्माणबाट उद्योगलाई चलायमान गराउन सहयोग पुग्ने बताए । प्रदर्शनीस्थलमा विभिन्न घर निर्माण सामग्रीका ७५ कक्ष रहेका छन् । चैत १६ गतेसम्म चल्ने प्रदर्शनीमा निर्माण क्षेत्रका अनुभवी तथा विज्ञहरूको उपस्थितिमा छलफल तथा अन्तरक्रियासमेत हुनेछ । प्रदर्शनीमा ४ दिन ४ फरक थिमका ११ वटा सेसनमा छलफल तथा अन्तरक्रिया हुने संगठन अध्यक्ष नन्दकिशोर राठीले बताए ।