काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका– १६ भन्सार मेनगेटबाट स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्म पर्सा बीरगंजले भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा मोटरसाइकलको सिटकभरमुनि प्लास्टिकमा प्याक गरी लुकाईछुपाई ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नगदसहित सोही महानगरपालिका–८ बस्ने ४४ वर्षीय अनिल कुमार शाहलाई नियन्त्रणमा लिएको हो ।
निजको साथबाट नेपाली रुपैयाँ एक हजार दरको नौं सय थान बरामद भएको छ । नियन्त्रणमा लिइएका व्यक्तिलाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाइएको छ ।