काठमाडौं । बेलायती अटो ब्रान्ड एमजी मोटर्सले विद्युतीय र हाइब्रिड सवारीमा नयाँ पुस्ताको प्रविधि विकासलाई तीव्र बनाएको छ । कम्पनीले ‘हाइब्रिड प्लस’ प्रणाली र ‘सोलिडकोर’ नामक सेमी–सोलिड–स्टेट ब्याट्रीमार्फत आफ्ना आगामी मोडेलहरूलाई अझ शक्तिशाली, ऊर्जा–दक्ष र सुरक्षित बनाउने लक्ष्य सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार जर्मनीको फ्रान्कफर्टस्थित इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको ‘हाइब्रिड प्लस’ प्रणाली पहिलो पटक नयाँ एमजी एस ९ प्लग–इन हाइब्रिड कारमा प्रयोग हुन सक्ने सम्भावना छ । यो प्रणालीमा उच्च गति (प्रति मिनेट करिब ७० हजार घुम्ने) इलेक्ट्रिक टर्बो र उन्नत मोटर समावेश गरिएको छ, जसले इन्जिन र विद्युतीय शक्तिबीच सन्तुलन मिलाउँदै प्रदर्शन र दक्षता दुवै सुधार गर्ने दाबी गरिएको छ । नयाँ प्रविधिको अर्को विशेषता ‘डिजिटल ड्याम्पिङ’ प्रणाली हो । गाडीभित्र जडित सेन्सरहरूले कम्पन पहिचान गरी मोटरमार्फत त्यसको प्रतिरोधी शक्ति उत्पन्न गर्नेछ । यसले कम्पन घटाएर सवारीलाई अझ शान्त र आरामदायी बनाउने कम्पनीको भनाइ छ । यसले ऊर्जा खपत घटाउँदै समग्र ड्राइभिङ अनुभवलाई सुधार गर्ने जनाइएको छ ।
यस्तै, एमजीले १.८३ किलोवाट–घण्टाको थप ब्याट्री प्याक समावेश गरी हाइब्रिड सवारीको समग्र क्षमता बढाउने योजना बनाएको छ । यी सुधारसँगै नयाँ मोडेलहरू पुराना संस्करणभन्दा छिटा, स्मूथ र कम आवाजयुक्त हुने अपेक्षा गरिएको छ । विद्युतीय सवारीतर्फ, कम्पनीले ‘सोलिडकोर’ नामक सेमी–सोलिड–स्टेट ब्याट्रीलाई ठूलो उपलब्धिको रूपमा अघि सारेको छ । यो ब्याट्री यस वर्ष युरोपमा एमजी ४ विद्युतीय ह्याचब्याकको उच्च संस्करणमा प्रयोग हुने तयारीमा छ । करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत मात्र तरल संरचना भएको यस ब्याट्रीले परम्परागत लिथियम–आयन प्रविधिभन्दा बढी ऊर्जा सञ्चय गर्न सक्ने, छिटो चार्ज हुने र फरक तापक्रममा स्थिर प्रदर्शन गर्ने क्षमता राख्ने बताइएको छ ।
सुरक्षाका हिसाबले पनि यो ब्याट्री महत्वपूर्ण मानिएको छ । कम्पनीका अनुसार परीक्षणका क्रममा दबाब वा क्षति हुँदा पनि आगो वा स्पार्क उत्पन्न नहुने देखिएको छ, जसले विद्युतीय सवारीमा हुने आगलागी जोखिमलाई उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ । एमजीले यी प्रविधिहरूलाई व्यावसायिक रूपमा विस्तार गर्दै भविष्यका सवारीलाई अझ स्मार्ट, सुरक्षित र वातावरणमैत्री बनाउने दीर्घकालीन रणनीति अघि बढाएको जनाएको छ ।