नेकपा (एमाले) का पूर्व संविधानसभा सदस्य कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–७ चन्द्रागिरीमा बसोबास गर्दै आएका ५२ वर्षीय मल्ललाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो।
ललितपुर महानगरपालिका–१५ क्षेत्रबाट उनलाई पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्। मल्लविरुद्ध एक महिलाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गरेपछि सोही आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन्। उक्त घटनासँग सम्बन्धित न्यायको माग गर्दै ती महिला केही समयअघि माइतीघरमा अनशनसमेत बसेकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।