काठमाडौं । फागुन २१ को चुनावसँगै नेपालमा नयाँ सरकार गठन भएको छ । यसअनुसार बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (९)अनुसार शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री शाहले रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पनि पाएका छन् । यसबाहेक अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, विराज भक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त भएका छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा खडक राज पौडेल, शिक्षा विज्ञान तथा प्रविधिसहित युवा तथा खेलकुदमा सस्मित पोखरेल नियुक्त भएका छन् ।
यसबाहेक स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्रीमा निशा मेहता, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा डा. विक्रम तिमिल्सिना, संघीयण् मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिलामा सोविता गौतम, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमा गीता चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा दीपक कुमार साह र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी नियुक्त भएका छन् ।
नियुक्त भएका सबै मन्त्रीहरुले नेपालको संविधानको धारा ८० अनुसार पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।