काठमाडौं । सेयर धितो अर्थात् मार्जिन नेचर लोन शीर्षकमा बैंकिङ क्षेत्रले कर्जा बढाउँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाबाहेकको सिंगो बैंकिङ क्षेत्रले कुल ७७ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ खर्ब ८५ अर्ब ८६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल एक खर्ब ५६ अर्ब १५ करोड ५० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ४१ अर्ब चार करोड ५० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा सिंगो बैंकिङ क्षेत्रले कुल ६७ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब ३३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितो शीर्षकअन्तर्गत मात्र कुल एक खर्ब १५ अर्ब ७१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आवको माघ मसान्तसम्ममा वाणिज्य बैंकहरूले मात्र कुल ६९ खर्ब ६३ अर्ब चार करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ५५ अर्ब २१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितो प्रकृतिको कर्जा शीर्षकअन्तर्गत कुल एक खर्ब ३३ अर्ब सात करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ३९ अर्ब ९५ करोड २० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ६० खर्ब एक अर्ब ६१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब १८ अर्ब ४४ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल ९३ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् ।
विकास बैंकहरूले पनि चालू आवको माघ मसान्तसम्ममा कुल छ खर्ब २७ अर्ब ७७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ३६ अर्ब १० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितो शीर्षकअन्तर्गत कुल १९ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल छ खर्ब तीन अर्ब ५१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल १७ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले भने चालू आवको माघ मसान्तसम्ममा कुल एक खर्ब ३७ अर्ब १७ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ५३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र प्रवाह गरेको कुल कर्जा रकम तीन अर्ब १८ करोड ५० लाख रुपैयाँ रहेको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ९० करोड ७० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब २६ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ५५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र प्रवाह गरेको कुल कर्जा रकम चार अर्ब नौ करोड २० लाख रुपैयाँ रहेको थियो ।