काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ सेवा थप गरेपछि सेवा लिने बिरामीको चाप बढि रहेको छ । दैनिकजसो १ हजारको हारहारीमा बिरामी प्रतिष्ठानमा उपचारका लागि आइरहेका छन् ।
प्रतिष्ठानले बिरामीको सेवालाई ध्यानमा राख्दै शुक्रबार गरेको बृहत् क्यान्सर परामर्श तथा परीक्षण शिविरमा करिब ३ सय बढीले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा मेडिसिनतर्फ २१ जना, गाइनोतर्फ एक सय ९३ जना र सर्जरीतर्फ ७२ जनाको स्वास्थ्य जाँच गरिएको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिए । शिविरले क्यान्सरका बिरामी पहिचान र उपचार गर्न सहज हुने उनले बताए । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनसँगको प्राविधिक सहयोगमा भएको शिबिरबाट ठुलो संख्यामा बिरामी लाभान्वित बनेको लम्सालले बताए । शिविरमा क्यान्सर अस्पताल भरतपुर चितवन र प्रतिष्ठानका विभिन्न विभागमा कार्यरत विशेषज्ञ चिकित्सक तथा कर्मचारी खटाइएको थियो ।
क्यान्सर अस्पतालबाट विशेषज्ञ चिकित्सककारुपमा मेडिकल अंकोलोजी डा. विवेक कंडेल, ब्रेष्ट सर्जरी डा. अनुप भट्टचन, युरोलोजी डा. बोधराज गौतम, गाइनो अंकोलोजी, डा. अस्मिता ओलीले शिविरमा स्वास्थ्य जाँच गरेका थिए । प्रतिष्ठानमा क्यान्सर उपचार सेवा सुरु गर्न सहकार्य गर्ने र क्यान्सर अस्पतालबीच यसअघि दुबै स्वास्थ्य संस्थाबिच भएको सम्झौता अनुरुप शिविर भएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने निमित्त उपकुलपति प्रा. लम्सालको भनाई छ । शिविरमा महिलाको पाठेघर, स्तन, योनी लगायतको क्यान्सर परीक्षण हुने भएकाले क्यान्सरका बिरामी र पाठेघरमा समस्या भएका, स्तनमा गाठा भएका, योनी चिलाउने तथा घाउ भएका लगायतका समस्या हुने महिलाहरुले परीक्षण गराएका थिए ।