विराटनगर । उद्योग संगठन मोरङले आयोजना गरेको घर निर्माण प्रदर्शनीको दोस्रो दिन गुणस्तरीय निर्माण सामग्री र घर सुरक्षा सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
सेसनको पहिलो सत्रमा ’निर्माण सामग्रीको गुणस्तर कसरी जाँच्ने शीर्षकमा बोल्दै इन्जिनियर अमितकुमार गुप्ताले घर तथा भवन संरचना निर्माणका क्रममा प्रयोग हुने छड, इँटा, ढुंगा, रोडा, पानी, सिमेन्टलगायतका निर्माण सामग्रीको प्रयोग र गुणस्तरीयताबारे जानकारी गराएका थिए । उनले नेपाली समाजमा भने इन्जिनियरले भनेको निर्देशनलाई नमान्ने प्रचलन रहेको र त्यसको परिणाम, गुणस्तर कायम हुन नसकी कमजोर संरचना निर्माण हुने भएकाले आर्थिक रुपमा क्षति पुग्ने बताए । ‘भण्डारण अवधि तीन महिना भएको सिमेन्टको भारवहन क्षमता २० प्रतिशत, ६ महिना भण्डारण गरेको सिमेन्टको ३० प्रतिशत कम बहन क्षमता हुन्छ’, उनले भने, ‘एक वर्ष भण्डारण भइसकेको सिमेन्टको ४० प्रतिशत र २ वर्ष भण्डारण भएको सिमेन्टको ५० प्रतिशत कम भारवहन क्षमता हुन्छ ।’ त्यस्तै, सेसनको दोस्रो सत्रमा अग्नी सुरक्षा प्रणाली तथा घर सुरक्षा अभ्यासमा बोल्दै इरोटेक टेक्नोलोजिज्का सञ्चालक तथा विज्ञ आशिष अग्रवालले करिब ८० प्रतिशत आगलागीजन्य मृत्यु घर तथा कार्यालयमै हुने गरेको उनले बताए ।
‘अहिले अनेकौँ स्मार्ट प्रविधिको प्रयोग बढ्दो छ, मोबाइल एपमार्फत नै घरको निगरानी, धुवाँ वा तापक्रम असामान्य भएमा तुरुन्त सूचना आउने तथा आवश्यक परेमा स्वचालित रूपमा विद्युत् आपूर्ति बन्द हुने जस्ता सुविधा उपलब्ध भइरहेका छन’, उनले भने । प्रदर्शनीमा सुविधा सम्पन्न डोमभित्र घर निर्माणका लागि आवश्यक पर्ने प्रविधि, उपकरण र निर्माण सामग्री समावेश गरिएका ७५ वटा स्टल राखिएका छन् । उद्योग संगठनले जारी घर निर्माण प्रदर्शनीमा दैनिक रुपमा थेमेटिक सेशन सञ्चालन गर्दै आइरहेको छ ।