काठमाडौं , नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयले सूचना जारी गर्दै सबै सांसदलाई तोकिएको समयसीमाभित्र विवरण पेश गर्न निर्देशन दिएको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद सम्हालेको ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण बुझाउनुपर्ने व्यवस्था छ। उक्त विवरणमा सम्पत्तिको स्रोत वा निस्सा समेत खुलाउनुपर्ने प्रावधान रहेको छ। यही कानुनी व्यवस्था कार्यान्वयनका लागि संघीय संसद सचिवालयअन्तर्गत सांसद सुविधा व्यवस्थापन शाखाले सूचना प्रकाशित गर्दै नवनिर्वाचित सांसदहरूलाई आर्थिक वर्ष २०८१/८२ को अद्यावधिक सम्पत्ति विवरण सिलबन्दी खाममा पेश गर्न आग्रह गरेको हो। सूचनाअनुसार सांसदहरूले भवन नं. १ को कोठा नं. २०७ मा कार्यालय समयभित्र विवरण दर्ता गराउनुपर्नेछ। उल्लेखनीय छ, गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूले चैत १२ गते शपथ ग्रहण गरेका थिए। सोही मितिबाट लागू हुने कानुनी प्रावधानअनुसार ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ।