काठमाडौं , काठमाडौं जिल्ला अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापा का अनुसार अदालतबाट दुवै जनालाई पाँच/पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद प्राप्त भएको हो। उनीहरूलाई शनिबार बिहान प्रहरीले पक्राउ गरी सोही दिन म्याद थपका लागि अदालतमा पेश गरेको थियो। यसअघि प्रहरीले दुवै जनालाई १० दिनसम्म थुनामा राख्न अनुमति माग गर्दै इजलास समक्ष निवेदन दर्ता गरेको थियो। सरकारी वकिलले पनि सोही अनुरूप माग पेश गरेका थिए। तर अदालतले प्रारम्भिक अनुसन्धानका लागि पाँच दिनको मात्र म्याद दिएको हो। भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिससहित बुझाएको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। सो घटनाको विस्तृत अनुसन्धान अहिले जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका ओली स्वास्थ्य समस्याका कारण शिक्षण अस्पताल महाराजगञ्ज मा भर्ना भएका छन्। उनी ‘भर्चुअल’ माध्यमबाट इजलासमा उपस्थित भएका थिए भने लेखक भने प्रत्यक्ष रूपमा इजलासमा उपस्थित भएर सुनुवाइमा सहभागी भएका थिए। प्रहरीका अनुसार अब पाँच दिनभित्र थप प्रमाण संकलन, बयान तथा अन्य अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ।