काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ओली सरकारकै ऊर्जा मन्त्री दिपक खड्कालाई भने सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई भदौ २३ र २४ गतेको घटनाको सम्बन्धमा र पूर्वऊर्जा मन्त्री खड्कालाई भने सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी विषयमा अनुसन्धानका लागि सात दिनको म्याद दिएको हो । खड्का आइतबार बिहान तथा ओली र लेखक भने शनिबार बिहान पक्राउ परेका थिए ।
खड्कालाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७(४) बमोजिम आइतबारदेखि लागू हुनेगरी सात दिनको म्याद दिएको हो ।
ओली र लेखकको बयान बाँकी रहेकाले अदालतले म्याद थप गरिएको काठमाडौं अदालतले जनाएको छ । म्याद थपका लागि प्रहरीले पूर्वप्रधानमन्त्री ओलीलाई अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत अदालतमा हाजिर गराएको थियो भने लेखकलाई सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं अदालतमा पेस गरेको थियो भने पक्राउपछि ओली उपचारका लागि शिक्षण अस्पतालमा भर्ना भएका छन् । लेखकलाई प्रहरीको २ नम्बर गण महाराजगन्जमा राखिएको छ । ओली र खड्काको तर्फबाट आइतबार नै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर भएको छ ।