काठमाडौं । बैंकिङ क्षेत्रमा कर्जा प्रवाहमा संकुचन आएको र निष्क्रिय कर्जा बढ्दै गएको अवस्थामा आम्दानी घट्दै गए पनि नियमित खर्च रकम भने बढ्दै गएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले कर्मचारीहरूको तलबभत्तामा ३९ अर्ब ८९ करोड ६० लाख र कार्यालय व्यवस्थापनको लागि थप २४ अर्ब ५४ करोड १० लाख रुपैयाँ समेत गरी कुल ६४ अर्ब ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार यो खर्च गत आवको सोही अवधिको तुलनामा दुई अर्ब ६३ करोड ९० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले कर्मचारीहरूको तलबभत्ताको लागि ३७ अर्ब ५३ करोड ५० लाख र कार्यालय व्यवस्थापनको लागि २४ अर्ब ५३ करोड ३० लाख रुपैयाँ समेत गरी कुल ६२ अर्ब छ करोड ८० लाख रुपैयाँ खर्च गरेका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आवको माघ मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र कर्मचारीको तलबभत्ताको लागि ३४ अर्ब ९९ करोड ९० लाख र कार्यालय व्यवस्थापनको लागि २१ अर्ब आठ करोड रुपैयाँ समेत गरी कुल ५६ अर्ब सात करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा एक अर्ब ८३ करोड १० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कर्र्मचारीहरूको तलबभत्ताको लागि ३३ अर्ब तीन करोड ७० लाख र कार्यालय व्यवस्थापनको लागि २१ अर्ब २१ करोड १० लाख रुपैयाँ समेत गरी कुल ५४ अर्ब २४ करोड ८० लाख रुपैयाँ खर्च गरेका थिए ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले भने चालू आवको माघ मसान्तसम्ममा कर्मचारीहरूको तलबभत्ताको लागि तीन अर्ब ८९ करोड २० लाख र कार्यालय व्यवस्थापनको लागि दुई अर्ब ७५ करोड १० लाख रुपैयाँ समेत गरी कुल छ अर्ब ६४ करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा ४१ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कर्मचारीहरूको तलबभत्ताको लागि तीन अर्ब ५७ करोड ८० लाख र कार्यालय व्यवस्थापनको लागि दुई अर्ब ६५ करोड २० लाख रुपैयाँ समेत गरी कुल छ अर्ब २३ करोड रुपैयाँ खर्च गरेका थिए ।
सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले भने चालू आवको माघ मसान्तसम्ममा कर्मचारीहरूको तलबभत्ताको लागि एक अर्ब ५० लाख र कार्यालय व्यवस्थापनको लागि ७१ करोड १० लाख रुपैयाँ समेत गरी कुल एक अर्ब ७१ करोड ६० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा १२ करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कर्मचारीहरूको तलबभत्ताको लागि ९२ करोड र कार्यालय व्यवस्थापनको लागि ६७ करोड रुपैयाँ समेत गरी कुल एक अर्ब ५९ करोड रुपैयाँ खर्च गरेका थिए ।