काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निर्वासित ‘तिब्बत सरकार’का प्रधानमन्त्री सिक्योङ पेन्पा छिरिङबाट बधाई पाएका छन् । अघिल्लो सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई पनि दलाई लामा र निर्वासित सरकारका छिरिङले बधाई दिएका थिए ।
‘नेपाल र तिब्बतबीच पुस्तौँदेखि निरन्तर गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध छ । यो सम्बन्धलाई नेपालमा रहेको तिब्बती समुदायले अझ बलियो बनाएको छ, जसले तिब्बत कब्जापछि नेपालमा शरण पाएका थिए । तिब्बती पहिचान जोगाउँदै उनीहरूले नेपालको सामाजिक र आर्थिक संरचनामा योगदान पुर्याएका छन् । यो नेपाल सरकार र जनताको उदारताले सम्भव भएको हो, त्यसका लागि हामी निकै आभारी छौँ,’ सिक्योङले भनेका छन् । उनले बालेनको नेतृत्वमा दुई जनताबीचको मित्रता निरन्तर सुदृढ गर्न इच्छुक रहेको बताएका छन् ।