परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट प्रकाशित समयतालिकाअनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ चैत्र १९गते बाट २९ गतेसम्म बिहान ८ देखि ११ बजे सञ्चालन हुने भएको छ । यस परीक्षामा नियमित, ग्रेडबृद्धि तथा प्राविधिक धारका परीक्षार्थी गरी करिब पाँच लाख परीक्षार्थी सहभागी हुँदै छन् । एसईईलाई विगतदेखि नै विद्यालय शिक्षाको फलामे ढोकाको रुपमा चित्रण गर्दै आएको पाइन्छ । एसईई परीक्षामा हाउगुजी र डरको रुपमा नभई रहरको रुपमा सम्मिलित हुने मानसिकताको खाँचो देखिन्छ । वर्तमानको विद्यालय संरचनाअनुसार कक्षा १ देखि ८ सम्म आधारभूततह र कक्षा ९ देखि १२ सम्म माध्यमिकतह भनि परिभाषित गरिएको छ । विगत ९ दशक भन्दा लामो समयदेखि विद्यालय तहको अन्तिम परीक्षाको रुपमा कक्षा १०मा लिइँदै आएकोमा एसएलसीलाई एसईईमा रुपान्तरण गरिएको छ । नयाँ व्यवस्थाअनुसार विद्यालयतहको अन्तिम कक्षा १२ मा लिइने परीक्षालाई एसएलसी मानिएको छ ।
वि. सं १९९० सालदेखि एसएलसीको रुपमा राष्ट्रियस्तरमा लिइँदै आएको विद्यालयतहको एकमात्र परीक्षाको नतिजा विगतदेखि नै उत्साहप्रद देखिँदैन वि.सं. १९९८ सालमा सबभन्दा बढी ७७.७८ प्रतिसत र वि.सं. २०३८ सालमा सबभन्दा घटी १६.६८ प्रतिसत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ । विगतका परीक्षाको विषयगत औसत प्राप्ताङ्क हेर्दा अंग्रेजीमा सबभन्दा घटी ३३.२४ र सबभन्दा बढी सामाजिकमा ४८.०४ भएको पाइन्छ । शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भए पनि विद्यार्थीको उपलब्धिमा झन् ह्रास आउनु गम्भीर चिन्ताको विषय हो । यति लामो समयसम्म विद्यार्थीको उपलब्धीस्तर ५० प्रतिसत पनि नपुग्नुमा के विद्यार्थीमात्रै दोषी छन् त ? वस्तुनिष्ठ अध्ययन गरी वास्तविकता पहिल्याउन अल्छी गर्नुहुन्न । उपलब्धीस्तर सतप्रतिशत पुर्याउन राज्य, शिक्षक, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ? निक्र्यौल गर्न विलम्ब भइसकेको छ ।
आगामी परीक्षामा सम्मिलित हुने परीक्षार्थीको परीक्षा तयारीलाई अझ सहज र उच्च प्रतिफलमुखी बनाउन टेवा पुर्याउने अपेक्षाकासाथ केही उपाय यहाँ प्रस्तुत गरिएको छ ।
-विद्यार्थीले परीक्षा तयारीको समयमा आफ्नो स्वास्थ्यको बारेमा विशेष ध्यान दिनुपर्छ । स्वस्थकर आहरविहार र सहज परिश्रमको नियमितता प्रति चनाखो रहनु लाभदायक हुन्छ ।
-एसईईलाई हाउगुजीको रुपमा नलिई सहजरुपमा आत्मसात गरेर सकरात्मक सोच र उच्च मनोबलकासाथ परीक्षा दिने मनस्थिति बनाउनु पर्छ ।
-मानसिक एवं शारीरिक क्षमताभन्दा बढी थकान हुनेगरी अनिंदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउछ । शारीरिक तथा मानसिक थकानका कारण आपूmले सोचेजस्तो जाँच दिन पनि सकिन्न भन्ने वास्तविकता प्रति हेक्का राख्नु जरुरी हुन्छ ।
-अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउने तर्फ शिक्षक विद्यार्थीले ध्यान दिनु जरुरी हुन्छ । किनकि विगतमा कहिलेकाहीं पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिने गरिएका वास्तविकतालाई बिर्सनु हुन्न ।
-कठिन महसुस गरिएका विषयलाई अलि बढी समय र महत्व दिंदै अध्ययनको दैनिक समय तालिका नै बनाएर सबै विषयलाई समानुपातिकरुपमा अध्ययन गर्नु बुद्धिमानी हुन्छ ।
-सहपाठीहरुको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानीले परीक्षासम्बन्धी बहुआयमिक ज्ञान तथा दिगो स्मरणमा शक्ति बढ्ने वास्तविकता हो ।
-विगत वर्षहरुका प्रश्नपत्रहरुको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर लेखनको स्तर बारे आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न ।
-परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउंछ भन्ने दृढ विश्वास एवं उच्च मनोवलकासाथ हतोत्साहित नभई परीक्षाहलमा प्रवेश गर्नुपर्छ ।
-विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिंड्नु अगाडि छुट्यो कि भनेर राम्रोसँग चेकजाँच गर्नुपर्छ ।
-परीक्षा केन्द्रको बस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहजता हुन्छ ।
-प्रवेशपत्र तथा उत्तरपुुस्तिकामा लेखिएका निर्देशनहरु परीक्षा सुरु हुनु अगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ ।
-उत्तर लेख्दा आफूलाई तत्काल धेरै जानकारी भएको प्रश्नबाट क्रमश लेख्न सुरु गर्नु पर्दछ ।
-प्रश्नले मागेको उत्तर यकिन भएपछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर राखि मैलिकता झल्किने गरी बुँदागतरुपमा सफा र शुद्धसँग उत्तर लेख्नु पर्दछ ।
-सबै प्रश्नका उत्तरहरु लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरहरुलाई पुनः सरसर्ती पढेर छुटपुट भए सच्याउनु पर्छ ।
एसईईलाई अधिकतम उपलब्धीमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरुको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण बनाइ सहजता प्रदान गर्ने एवं उत्साह र ढाढस दिएर मर्यादित रुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारीभित्र पर्छ । यस मानेमा एसईई अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।
त्यस्तै विद्यालयले विद्यार्थीको रुची क्षमता अनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरुपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धी उच्च हुने यर्थाथता हो । एसईईको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकोले विद्यालयले आफनो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो । तसर्थ आफ्ना विद्यार्थीको उपलब्धिस्तर उच्चतम बनाउन विद्यार्थीको प्रतीभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरुको विकास र विस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्दछ । विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको एकिन गर्ने परीक्षा पनि हो एसईई ।
प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरियताले पनि परीक्षाको नतिजालाई असर पार्दछ । अपेक्षा गरेअनुसार व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवम् उनीहरुले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्यौल गर्दछ । त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलगायत विद्यालयतहको शिक्षाको जिम्मेवारी लिएका पदाधिकारीले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पु¥याए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो । यसप्रकार एसईई प्रत्यक्षरुपमा विद्यार्थीको लागिमात्र परीक्षा भए जस्तो लागे पनि परोक्षरुपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको नीति–नियम कार्यक्रमको प्रभावकारिता जाँच्ने कसी पनि हो भन्नेतर्फ सरकार र सरोकार पक्षले हेक्का परीक्षाको व्यवस्थापन गर्नु जरुरी छ । (लेखक निवृत जिल्ला शिक्षा अधिकारी हुन् ।)