तेहरान । यमनका हुथी विद्रोहीहरू युद्धमा प्रत्यक्ष रूपमा सामेल भएसँगै मध्यपूर्व द्वन्द्व थप जटिल बन्दै गएको छ । यसैबीच इरानले खाडी क्षेत्रमा रहेका दुई प्रमुख एल्युमिनियम प्लान्टमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गर्दै क्षेत्रीय आर्थिक जोखिम थप गहिरिएको संकेत दिएको छ ।
फेब्रुअरी २८ मा इरानमाथि अमेरिका–इजरायलद्वारा गरिएको आक्रमणपछि सुरु भएको युद्ध अहिले क्षेत्रभर फैलिएको छ । यसले विश्व ऊर्जा बजारमा दबाब सिर्जना गर्नुका साथै विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्ने चिन्ता बढाएको छ । वासिङ्टन र तेहरानबीच सम्भावित वार्ताको अवस्था अझै अनिश्चित रहँदा दैनिक आक्रमण र प्रतिआक्रमण जारी छन् ।
आइतबार बिहान तेहरानमै दुई शक्तिशाली विस्फोटले सहर हल्लिएको एएफपीका संवाददाताले जनाएका छन्, यद्यपि लक्षित स्थान स्पष्ट हुन सकेको छैन । कतारी समाचार च्यानल अल अरबीले आफ्नो तेहरानस्थित कार्यालय रहेको भवनमा इजरायली क्षेप्यास्त्र प्रहार भएको दाबी गरेको छ । सार्वजनिक गरिएको भिडियोमा फुटेका झ्याल, चकनाचुर काँच र बाहिर सडकभरि छरिएका भग्नावशेष देखिएका छन् । एक स्थानीय कलाकारका अनुसार अघिल्लो रातको आक्रमण यति तीव्र थियो कि ‘सम्पूर्ण सहर नै थरथराएको’ अनुभूति भएको थियो । इरानको राज्य सञ्चारमाध्यमका अनुसार अमेरिका–इजरायल आक्रमणले स्ट्रेट अफ होर्मुज नजिकैको बन्दर खमीर बन्दरगाह क्षेत्रमा पनि प्रहार गरेको छ ।