काठमाडौं । सरकारले पहिलो पटक मेरिटमा आधारित भएर उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । अर्थ मन्त्रालयका उपसचिवहरुको मेरिटका आधारमा ३० जनाको सरुवा र पदस्थापन गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट यो सरुवा गरेका हुन् ।
यसअनुसार मन्त्रालयका उपसचिवहरु रामराज प्रसाद चौरसिया, गोपाल प्रसाद भट्टराई, प्रमोद दास, कृष्ण प्रसाद न्यौपाने, केशव रघुवंशी, हिमलाल शर्मा, चक्र प्रसाद ढुंगाना, शर्मिला सुवेदी, माया पन्थी, हरिप्रसाद भण्डारी, सुरेन्द्र पाण्डेय, जागेश्वर शर्मा, धनीश्वर अर्याल, सतेन्द्र मोहन गुरुङ, सूर्य बहादुर कुँवर, सुन्दर श्याम ठाकुर, खगेन्द्र सापकोटा, सुवर्ण कोइराला, दीपेन्द्र कुमार झा, गगन बहादुर शाही, ईश्वरी खत्री, वामदेव पन्थी, अम्बिका प्रसाद फुँयाल, उर्मिला कंडेल, युगल किशोर गौतम, मनोज गिरी, मीनु वसन्ती कपाली, कोपिला आचार्य, अम्बिका देवी सुवेदी र विदुर चुडाल रहेका छन् ।
मेरिटअनुसार पहिलो हुनेले पहिले पोस्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने अनि मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ । यसरी सरुवा गर्दा मेरिटको अन्तिमतिर भएकाहरुले अरुले छाडेको र बाँकी रहेको ठाउँमा जानुपर्ने हुन्छ । रोजेको र आकर्षक भनिएको ठाउँमा पदस्थापन हुन यो विधिअनुसार अब अब्बल हुनुपर्छ ।
६३ जनालाई उपसचिवलाई स्थानीय तहमा पठाइयो
यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ उपसचिव वा सो सरहका कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिका कार्यालयहरुमा उपसचिव वा सोसरहका कर्मचारी खटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन् । खटाइएकामध्ये केहीलाई सरुवा गरिएको छ भने केहीलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको मन्त्रालयले जनाएको छ ।