काठमाडौं केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०० विपरीत कसुर गरेका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका हुन् ।
सोही कम्पनीमा कार्यरत कर्मचारीहरूलाई छुट्याएको सेयर बाँडफाँट सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण÷कागजात पेस गर्दा उक्त कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र सोको प्रतिलिपिहरूको विवरण फरक–फरक निकायमा पेस गर्दा फरक–फरक देखिएको आधारमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०० विपरीत कसुर गरेको देखिन आएको थियो । सोही विषयमा नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका –५ घर भई हाल काठमाडौ, जिल्ला का.म.न.पा.१६ बनस्थली बस्ने ५१ वर्षीय सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
उनलाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई सोमबार काठमाडौंको यू–प्लाजा पुतलीसडकबाट पक्राउ गरी थप अनुसन्धान कार्य गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा झण्डै चार लाख ८० हजार कित्ता सेयर अनियमितता गरेको देखिएको छ ।