काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले आउने नीति तथा कार्यक्रम र बजेटमा देखिनेगरी आर्थिक सुधारका कामलाई अघि बढाइने बताएका छन् ।
मन्त्रालयमा सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसंग भेट गर्दै उनले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार, नीतिगत स्पष्टता र कार्यान्वयनमा प्रभावकारिता ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रका सुझावहरूलाई आफूले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उनले सरकार निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउन तयार रहेको बताए । उच्चस्तरीय आयोगको सिफारिसका आधारमा आफूले पदभार ग्रहण गर्नासाथ विभिन्न १५ वटा कानुन खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको र १०० दिने कार्यक्रमममा पनि सुशासन र नागरिक सेवालाई सहज र सरल बनाउने गरी कार्यक्रम ल्याएको उनले जानकारी दिए । साथै, उनले एलडीसी ग्राजुयेसनको समयसीमा सार्न पहल गर्नु पर्ने आफू सकारात्मक रहेको बताए । तर त्यो समयसम्म स्तरोन्नत्तीको लागि आन्तरिक तयारी भने गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले सुरुमै निजी क्षेत्रका धेरै माग सम्बोधन हुनेगरी सुधारका काम अघि बढाएको बताए । वर्तमान सरकाबाट निजी क्षेत्रले लगानीमैत्री वातावरण, कर प्रणालीमा सुधार र निजी क्षेत्रको मनोबल उच्च बनाउने खालका नीतिगत निर्णयको अपेक्षा गरेको उनको भनाइ थियो । साथै, उनले अब आउने सरकारको नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए । देशको आर्थिक विकास र समृद्धिका लागि आन्तरिक तथा बाह्य पुँजी परिचालन आवश्यक रहेको उनको भनाइ छ । उनले मुलुक अझै संक्रमणमै रहेको र छिमेकी मुलुक बंगलादेशले समेत स्तरोन्नत्तीको समय सार्न पहल गरेको अवस्थामा नेपालको स्तरोन्नतिको समय सार्न सरकारले पहल गर्नुपर्ने सुझाव दिए ।
महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले बहुमत प्राप्त सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वको अपेक्षा गरिएको बताए । उनले राजस्व न्यायाधिकरण जस्ता संस्थाहरूको पुनर्संरचना गर्नुपर्नेमा जोड दिए । साथै उनले मध्यपूर्वको संकटले नेपाललाई पार्न सक्ने प्रभावबारे सरकारले आवश्यक सचेतना अपनाउनुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले वैदेशिक नीति तर्जुमा गर्दा देशको अर्थतन्त्रलाई प्राथमिकतामा राखेर गर्नु पर्नेमा जोड दिए । उनले अर्थतन्त्रको विकास र रोजगारी सिर्जनाको लागि निजी क्षेत्रमैत्री नीतिगत स्थायित्व आवश्यक रहेको बताए ।
महासंघका उपाध्यक्षहरू हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, तथा कोषाध्यक्ष भरतराज आचार्यले मध्यपूर्वको संकटले धेरै उद्योग व्यवसाय प्रभावित रहेको उल्ल्लेख गर्दै यस विषयमा आवश्यक पहल गर्न अर्थमन्त्री समक्ष आग्रह गरे । उनीहरूले साना तथा मझौला उद्योग अहिलेको आर्थिक सुस्तताबाट गम्भीर रूपमा प्रभावित भएको भन्दै ती उद्योगहरूको संरक्षण, सहजीकरण र पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउन सुझाव दिए । छलफलमा महासंघको टोलीले नीतिगत सुधारका लागि महासंघकै आग्रहबमोजिम दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले पेश गरेका सुझावहरूलाई पनि सरकारले ग्रहण गरी कार्यान्वयन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन नीतिगत स्थिरता, संरचनागत सुधार र निजी क्षेत्रसंगको सहकार्य आवश्यक रहेकोमा जोड दिएको थियो ।