काठमाडौँ । प्रहरीले काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई नियन्त्रणमा लिएको छ । उनलाई मंगलबार बिहान कोटेश्वरको सुविधानगरबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।
तत्कालीन पूर्वप्रजिअ रिजाललाई गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै कारबाही सिफारिस गरेको जनाइएको छ ।
अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले पक्राउ परेका पूर्वप्रजिअ रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको जानकारी दिए । अब जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।