काठमाडौं । सरकारले कालोसूचीमा राखेको बिचौलियाको छवि बनाएका विवादास्पद व्यवसायी दीपक भट्टबारे अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले नेपाल बीमा प्राधिकरणलाई पत्राचार गरेको पाइएको छ । विभागले भट्टबारे अनुसन्धान गरी राय तथा प्रतिक्रियाका लागि भन्दै गत फागुन २८ मा प्राधिकरणलाई पत्र काटेको हो ।
विभागका अनुसार हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडका आधारभूत सेयरधनी रहेका भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडलगवायतका सेयर खरिद गर्न हिमालयन रि–इन्स्योरेन्सको दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार एक सय ६० रुपैयाँ ३ पैसा, यसकै सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख ७१ हजार चार सय ४५ रुपैयाँ ६ पैसा, नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको ३७ करोड, एचएलआई लार्ज क्याप फन्डबाट २५ करोड १४ लाख ८४ हजार सात सय ४८ रुपैयाँ ८६ पैसा र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १६ करोड १७ लाख ५२ हजार आठ सय ७३ रुपैयाँ ८८ पैसाभन्दा धेरै करिब तीन अर्ब ८१ करोड ४६ लाख चर हजार दुई सय ३० रुपैयाँ १७ पैसा दुरुपयोग गरेको विभागको पत्रमा उल्लेख छ । भट्टले धितोपत्र दलाल इजाजत नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिमार्फत खरिद गर्दा भुक्तानी गरेको देखिएको विभागले पत्रमा उल्लेख गरेको छ ।
‘यो कारोबारका क्रममा बीमा व्यवसाय सञ्चालनका क्रममा कुनै अनियमितता वा आर्थिक दुरुपयोग गरे नगरेको सम्बन्धमा छानबिन गरी राय प्रतिक्रियासहितको प्रतिवेदन ७ दिनभित्र विभागलाई पठाइदिन अनुरोध छ’, प्राधिकरणलाई लेखिएको पत्रमा उल्लेख छ ।