जनताको मतबाट खडा हुने कुनै पनि सरकारको मूल्यांकन हुने सबभन्दा पहिलो माध्यम हो निर्वाचनमा सम्बन्धित दल वा उम्मेदवारले गरेका वाचाको पालना के कति मात्रामा भइरहेको छ । यसैकारण निर्वाचनमा दल वा उम्मेदवारले आफ्ना घोषणापत्र बनाउने प्रचलन बसेको हुनुपर्छ । निर्वाचन नभै कतैबाट मनोनित हुने सरकारका सदस्यहरूको भने अर्को प्रकारले समीक्षा होला । निर्वाचितहरूका लागि वाचा पूरा नगरेमा उसलाई पछ्याइराख्ने विषय पनि यही हुन्छ । त्यसैकारण अर्को निर्वाचनमा यस्ता उम्मेदवारले झन् बढी वाचा गर्ने वा त्यसलाई झन् बढी पत्याउन लायक बनाउने प्रयास भइरहेकै पाइन्छ । नेपालमा हालै सम्पन्न आम निर्वाचनमा नयाँ र पुराना जबरजस्त भाष्य बनेको थियो । परिणाम पनि त्यही प्रकारले आयो । नयाँका ठाउँमा पुराना टिक्न नै सकेनन् । कारण खोजियो भने त्यही वाचा पूरा गरे नगरेको भन्ने नै फेला पर्छ । यो निर्वाचनबाट उदाएका नयाँ दलले सरकार त बनायो तर वाचाका सन्दर्भमा पुरानाको अनुकरण गर्ने हो कि भन्ने खतरा बढ्न थालेको छ, जो सम्बद्ध पक्षले सुरुदेखि नै सतर्कता अपनाउन आवश्यक देखिन्छ ।
तर यो निर्वाचनमा दुईतिहाइको हाराहारीमा मत ल्याएको दल रास्वपाले आफ्नै घोषणापत्र, उसको भाषामा वाचापत्रको कम्तीमा प्रारम्भदेखि नै उल्लंघन गर्न थालेको देखियो । निर्वाचनका क्रममा आफूले नै दिएका वाचाहरू पूरा हुन्छन् हुँदैनन् भन्ने सन्दर्भमा यसलाई उदाहरण मान्ने हो भने संकेत राम्रो देखिँदैन । यसलाई उक्त दलले अर्थात् उसको सरकारले तत्कालै सच्याउनुपर्छ । यो विवरण पनि त्यसकै लागि उल्लेख भएको हो । यो दलका प्रधानमन्त्रीदेखि सबै मन्त्रीले पहिलो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीले जनतासँग गरेको वाचा उल्लंघन गरेको आरोप लाग्न थालेको छ । यो वाचा देशको कुनै ठूलो विकास निर्माणको र ठूलो आर्थिक स्रोत चाहिने सन्दर्भको होइन । इच्छा शक्ति भए तत्कालै पालना हुने खालको हो तर प्रारम्भिक रूपमा यो कुरा पूरा भएको पाइएन । यो दलले आफ्नो चुनावी प्रयोजनका लागि गरेको जनतासँग करार पत्रमा सार्वजनिक पद सम्हाल्नुअघि पूर्णसम्पत्ति विवरण सार्वजनिक गर्ने भनेर लेखेको छ । त्यसमा भनिएको छ– सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्णरूपमा सार्वजनिक गर्ने छौं । निर्वाचनअघि र कार्यकाल पूरा भएपछि हामी र हाम्रो परिवारको सम्पत्ति कति परिवर्तन आयो त्यसको स्वतन्त्र लेखापरीक्षण गराएर जनतासमक्ष सार्वजनिक गर्ने छौं । साथै, आफन्तलाई स्वकीय सचिव राख्ने छैनौं ।
यो वाचा पूरा हुन वा गरिन १२ चैतअघि नै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने थियो । यो दिन सांसदहरूले शपथ खाएको दिन हो, जसमा रास्वपा पनि पर्छ । त्यतिमात्र होइन यस्तै वाचाका कारणया दल सबभन्दा ठूलो आकारमा प्रकट भएको उसको आकारले नै बुझाउँछ । उल्लेख भएको यो वाचाअनुसार भनिए जस्तो गरिएको भए सांसदका रूपमा शपथग्रहण गर्नुअघि नै वाचाअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने थियो । त्यसमाथि मन्त्रिपरिषद् गठन भएर कार्यभार सम्हालिसक्दासम्ममा कुनै पनि मन्त्री र सांसदले सम्पत्ति विवरण सार्वजनिक गरेका देखिएन । प्रचलित कानुनमा सांसद र मन्त्री दुवैलाई सार्वजनिक पदका रूपमा परिभाषित भएको छ । हो, प्रचलित कानुनमा नै सार्वजनिक पद धारण गर्ने व्यक्ति वा पदाधिकारीले त्यस्तो पदमा नियुक्त भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित अर्थात् तोकिएको निकायमा बुझाइसक्नुपर्ने छ । यो अर्थमा उल्लिखित पदाधिकारीहरूले सम्पत्ति विवरण बुझाउने समय बाँकी नै छ । अपेक्षा गरौं, त्यो मितिभित्र यस्तो विवरण आइसक्ने छ । तर यसअघि यो दलका सदस्यहरूले नै मन्त्री भएको छ महिनासम्म यस्तो विवरण आएन । एउटा सधारण तहको कर्मचारीले विवरण नबुझाएको भए यतिबेलासम्म ऊ दण्डित भइसकेको हुनुपर्ने थियो । चुनावी सरकारमा यो दलका दुईजना मन्त्री थिए । उनकै अनुकरण गरेर अरुले पनि त्यस्तो विवरण बुझाएका थिएनन् । यो दल सबभन्दा ठूलो भएको छ । त्यसकारण अरुका लागि पनि वाचा पूरा गर्नेमा अनुकरणीय बनोस् ।