काठमाडौं । निक्षेपकर्ताको रकम हिनामिना गरेको अभियोगमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी पक्राउ परेका छन् । निक्षेपकर्ताको एक करोड ६५ लाख रकम हिनामिना गरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेघा बैंक–एनआईएमबी) कपिलस्तुका शाखाका कर्मचारी ऋषम कार्की पक्राउ परेका हुन् । कपिलवस्तु नगरपालिका–३ अदालतटोलका बैंकका कर्मचारी कार्कीलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले चैत ११ गते मायादेवी गाउँपालिका–१ पकडीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एनआईएमबी बैंकको तर्फबाट म्यासेन्जर कार्कीविरूद्ध प्रहरीमा चैत ९ गते किटानी जाहेरी परेको थियो । जसमा निक्षेपकर्ताको ठूलो धनराशी आफूखुसी हिनामिना गरेको उल्लेख थियो । बैंकका कर्मचारी कार्कीले विभिन्न समयमा बैंकिङ प्रणालीभित्र प्रवेश गरी १६ जना ग्राहकका मोबाइल नम्बर परिवर्तन गरी आफूले प्रयोग गर्ने मोबाइल नम्बर उक्त खातामा प्रयोग गरी मोबाइल बैंकिङको ट्रान्जेक्सन अलर्टसमेत नहुने गरी व्यवस्थापन गरी रकम ठगी गरेका थिए । बैंकिङ प्रणालीभित्र प्रवेश गरी गलत तरिकाले त्यसलाई प्रयोग गर्दै विभिन्न बचतकर्ताको रकम हिनामिना गरेको आधारमा उनी प्रहरी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।