काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले साधारण सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले यही चैत्र २६ गतेबाट सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीका अनुसार सर्वसाधारणको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी सात करोड ८० लाख २० हजार रुपैयाँ बराबरको सात लाख ८० हजार दुई सय कित्ता साधारण सेयर निष्कासन हुने छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् एक रुपैयाँ अंकित मूल्य कायम रहने गरी १४ करोड १० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँका दरले कुल १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको थियो । सोमध्ये कम्पनीले चार लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र ९४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
सोपश्चात् भने कम्पनीले बाँकी रहेको ४७ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि र १८ हजार आठ सय कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहन गएको सात लाख ८० हजार दुई सय कित्ता सेयर सर्वसाधारणको लागि बिक्री आह्वान गरेको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही चैत्र ३० गते र ढिलोमा वैशाख १० गते बन्द हुने छ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ९४ हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।