काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ । बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई÷एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो ।
बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन दोश्रो संस्करण २०२६ आगामी मे महिनाको २९–३१ मा आयोजना गर्नेछ । उक्त प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरूका लागि आवेदन खुल्ला गरिएको छ । प्रतियोगितामा सहभागी हुन मे ४, २०२६ भित्र बैंकको वेवसाइटमार्फत आवेदन दिन सकिनेछ ।
पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहपूर्ण सहभागिता रहेकोले बैंकले ह्याकाथनको दोश्रो संस्करण आयोजना गर्न लागेको हो । ह्याकाथन प्रतियोगिताले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मी र सम्भावित नविनतम प्रविधिमा आधारित बैंकिङ्ग सेवाको विकासमा उल्लेख्य सहयोग पुगेको बैंकको विश्वास छ ।
यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने नवीनतम सेवा विकास र सम्भावित चुनौतिको समाधान खोज्नसमेत सहयोग पुग्नेछ । प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले दि अटोनोमस क्रेडिट एन्ड लेन्डिङ्ग अर्केस्टे«टर, एजेन्टिक फ्रड डिटेक्सन, दि मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क एआई ड्रिभन इन्टुजन डिटेक्सन (आईडीएस)लगायत बैंकले तोकेका विषयहरूमा केन्द्रित रही आफ्ना अवधारणाहरू प्रस्तुत गर्नुपर्ने छ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसरसमेत प्रदान गरिने छ ।
प्रविधिमैत्री वित्तीय सेवाहरू प्रवद्र्धन गर्न र डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउदै नविनतम अवधारणाहरूलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनि अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ७९ वटा एटीएम काउन्टर, एक सय ४७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।