काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले महिलाहरूलाई सिलाइ–कटाइ मेसिन हस्तान्तरण गरेको छ । बैंकका अनुसार कैलाली र बाँके जिल्लाका गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलाहरूको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले यही चैत्र ८ गते कैलालीमा र चैत्र १० गते बाँकेमा छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरी सिलाइ–कटाइ मेसिनहरू हस्तान्तरण गरिएको हो । कैलालीमा पाँच जना महिलालाई र बाँकेमा १० जना महिलालाई गरी कुल १५ वटा सिलाइ–कटाइ मेसिन बैंकद्धारा हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।
कासगर समुदायका महिलाहरूको जीवनस्तर उकास्ने तथा सिकेको सीपलाई व्यवहारमा उतार्न सहयोग पुर्याउने लक्ष्यसहित बैंकले यी मेसिनहरू उपलब्ध गराएको हो । यस सहयोगले महिलाहरूको आर्थिक पक्षमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै साना घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन दिएको छ । सिलाइ–कटाइ सीपलाई व्यावसायिक रूपमा उपयोग गर्दै उनीहरूले लुगा सिलाउने, मर्मत गर्ने तथा अर्डरअनुसार काम गरी नियमित आम्दानी गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ । यसबाट परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने र महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै आफ्नै घर तथा समुदायमै बसेर आम्दानी गर्ने अवसर सिर्जना गर्नेछ भन्ने बैंक विश्वस्त छ ।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।